Mero Chitwan
मिटर जडानै नगरी विद्युत महसुल असुलीको प्रयास

रत्ननगर- नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्रले महिला सहकारीहरुको नेतृत्व गरिरहेको एक संस्थाको कार्यालयमा मिटर जडानै नगरी महसुल असुलीको लागि विल पठाएको पाइएको छ ।

प्राधिकारणले रत्ननगर १२ चिसापानीस्थित सामाजिक उद्यमी महिला सञ्जाल(सेवा नेपाल)को कार्यालयमा मिटर जडान नै नगरी महसुल असुलीको लागि विल काटेको हो ।

उक्त संस्थाले २०८० साउन ९ गते प्राधिकरणमा मिटर जडानका  लागि निबेदन दिएर भदौ महिनामा २२ हजार रुपैया बुझाएको थियो । १५ केभिए र २५ एम्पीयर क्षमताको मिटर जडानका लागि सो संस्थाले २२ हजार रुपैया प्राधिकरणलाई बुझाएको थियो । २०८० भदौमा पैसा बुझाएकोमा मिटर प्राधिकरणले २०८१ असार २५ गते संस्थाको कार्यालयमा जडान गरिदियो । प्राधिकरणले मिटर नै जडान नगरेको १० महिनाको महसुल र जरिवानासहित संस्थामा विल पठाएको अध्यक्ष पार्वती न्यौपानेले बताइन् ।

साउन र भदौमा विद्युत उपभोग गरेवापतको पैसा ७ हजार ८०० रुपैया उठेको छ । गत बर्षको भदौ महिनादेखिकै महसुल र जरिवाना गरी ६१ हजार ७६३ रुपैयाको विल प्राधिकरणले पठाएको अध्यक्ष न्यौपानेले बताइन् । 'प्रयोगै नगरेको विजुलीको पैसा हामीले कसरी तिर्नु', उनले भनिन् 'यो प्राधिकरणको लापरबाही हो ।

अध्यक्ष न्यौपानेले पैसा बुझाएपछि मिटर जडानका लागि प्राधिकरणमा पटक- पटक ताकेता गर्दा समेत बेवास्ता गरेको बताइन् । 'अब हामी प्राधिकरण घेर्न जान्छौं,' उनले भनिन् 'हामीलाई प्राधिकरणले अन्याय गर्‍यो ।' 'दुई महिना विद्युत उपभोग गरेको रकम बाहेक १० महिना विना मिटरको ५३ हजार ९६३ रुपैया के आधारमा तिर्नु प्राधिकरणलाई,' प्रश्न गर्दै अध्यक्ष न्यौपानेले भनिन् 'यो प्राधिकरणको ठगीखाने धन्दा भयो ।'

टाँडी वितरण केन्द्रका प्रमुख राजेन्द्रप्रसाद चौधरीले मिटर जडानका लागि शुल्क तिरेर ग्राहक भएपछि प्राधिकरणको सिस्टम अनुुसार न्यूनतम महसुल लाग्ने बताए । सेवा नेपालको भवन पूर्ण रुपमा बनिनसकेका कारण मिटर जडान गर्न नसकिएको भन्दै उनले सेवा नेपाललाई अन्याय भएको स्विकार गरे । प्रमुख चौधरीले सेवा नेपालको विद्युत महसुलको विषयमा मध्यमार्गी बाटोको खोजी भइरहेको र केही राहत प्रदान गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  २२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update