Mero Chitwan
यस्तो छ सहकारी छानबिन समितिको प्रतिवेदन [पूर्ण पाठ]

काठमाडौँ-सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्वगृहमन्त्री रवि लामिछानेसहित ४ जनालाई कारबाही गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको छ ।

समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेस गरेका हुन् । 

गोरखा मिडियालगायत कम्पनीहरूमा भुक्तानीका साधन र उपकरणहरू पूर्ण नभई किर्ते कागजकै आधारमा सेयर खरिद बिक्री भएको निष्कर्ष समितिले निकालेको हो । प्रतिवेदनमा उक्त भुक्तानी प्रक्रिया पूर्ण भएको यकिन गरी र सोबमोजिमको कर समेत तिर्ने बाध्यकारी प्रबन्ध मिलाउन सुझाव समेत दिएको छ । सूर्यदर्शन सहकारीसहितका पाँच वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको निष्कर्ष सहितको प्रतिवेदन समितिले संसदलाई बुझाएको हो ।

कुनै पनि कम्पनीमा त्यसका सञ्चालक वा सेयरहोल्डरहरू मुख्य जिम्मेवार हुने भन्दै समितिले सेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध नगर्न नमिल्ने निस्कर्ष निकालेको छ ।

‘खातावाल हस्ताक्षरकर्ताहरू जसले खाता सञ्चालन अर्थात् वित्त परिचालनमा सहभागी हुन्छन्, त्यसवापत दायित्व ग्रहण ग्रहण गर्नु पर्दछ,’ समितिले दिएका सुझावमा भनिएको छ, ‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडया नेटवर्क प्रालिको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानुन बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने ।’

 बैठकमा सभामुख देवराज घिमिरेले सभामा प्रस्तुत सहकारी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन आवश्यक कार्यार्थ नेपाल सरकारलाई पठाउन संसद सचिवालयलाई निर्देशन दिएका छन् । 

  

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  २२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update