Mero Chitwan
बैतडीको निङ्गलासैनी मन्दिरमा अनन्त चतुर्दशीको जात्रा सुरु
तस्बिर- उद्धव सिंह

बैतडी- बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने जात्रा शुरु भएको छ। दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंमा रहेको उक्त मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेला भाद्र शुक्ल द्वादशीबाट शुरु भएको हो।

भाद्र शुक्ल द्वादशीका दिन निङ्गलाशैनी भगवती मन्दिरको भण्डार घरबाट मन्दिरमा भण्डार ल्याउने प्रचलन रहेको र  सोही प्रचलनअनुसार आज भण्डार घरबाट माताको सवारी मन्दिरमा गराइएको निङ्गलाशैनी भगवती मन्दिरका मूलपूजारी देवदत्त भट्टले जानकारी दिए।

भाद्र शुक्ल द्वादशीबाट जात्रा शुरु हुने र तीनरात जाग्राम बस्ने चलन छ । चतुर्दशीको अवसरमा लाग्ने मेलामा बैतडीको स्वराड र सदरमुकाम क्षेत्रबाट चन्दहरूले जात्रा ल्याउने प्रचलन छ। यो जात्राको मुख्य आकर्षण भनेकै स्वराडी–बैतडाको जात रहेको छ।

भदौ शुक्ल त्रयोदशीका दिन स्थानीय भाषामा नानी जात र भदौ शुक्ल चतुर्दशीका दिन लाग्ने मेलालाई ठूली जात भनिने चलन छ । यी जातहरुमा देउडा धुमधामका साथ खेलिन्छ । यो जात्रामा नेपालका मात्रै नभएर भारतको कुमाउलगायतका सीमावर्ती क्षेत्रबाट दर्शनार्थी पुग्छन्। 

निङ्गलाशैनी भगवती मन्दिरमा वर्षको चारपटक जात्रा लाग्छ। महाष्टमी र चैत्राष्टमीमा बलिसहित जात्रा हुने भए पनि अनन्त चतुर्दशी र धान्य पूर्णिमाका दिन लाग्ने मेलामा बलि दिइदैन। 

 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update