काठमाडौं-आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत क्यानडा भ्रमणमा रहेको नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ ।
किङ्ग सिटीमा खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुने छ । क्यानडामा नेपालले दोस्रो खेल असोज २ गते ओमानसँग खेल्ने छ । तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध प्रतिस्पर्धा गर्ने छ । एसोसियट टोली मध्येको शीर्ष टोली बन्न नेपालले होम ग्राउन्डका मात्रै नभएर अवेका खेलहरु पनि जित्नु आवश्यक छ ।
गत फेब्रुअरी अन्तिम साता नेदरल्यान्डसँग लिग-२ कै एक दिवसीय खेलमा ८ विकेटले पराजित भएपछि नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको हो । उक्त घरेलु सिरिजका ४ मध्ये नेपालले ३ खेल गुमाएको थियो। तर नेपाललाई यस पटक उक्त गल्ती दोहोर्याउने अवसर हुने छैन । लिग -२ को तालिकामा नेपाल २ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।
यसै सिरिजका लागि भारतको बैंगलुरुस्थित नेसनल क्रिकेट एकेडेमीमा दुई हप्ता अभ्यास गरेको थियो । प्रशिक्षक मोन्टी देशाइले नेपालको तयारी राम्रो रहेको र राम्रो नतिजा हात पार्ने विश्वास व्यक्त गरेका छन् । नेपाल र क्यानडाले हालसम्म एक अर्काविरुद्ध ३ ओडीआई खेल खेलेका छन् । जसमा नेपालले शतप्रतिशत नतिजा हात पारेको छ ।