Mero Chitwan
संघीय संसद्को वर्षे अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य गर्न सरकारको सिफारिस

काठमाडौं-सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले भोलि सोमबार राति १२ बाट वर्षे अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

संसद्‌ बैठक आह्वान र अन्त्य गर्ने काम सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक प्रावधान छ । चालु बजेट अधिवेशन वैशाख २८ देखि सुरु भएको थियो ।

यसअघि 'हिंसा' शब्दको विवादका विषयमा दलहरुबीच सहमति नभएपछि आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो ।  आइतबार अपराह्न १ बजे तोकिएको बैठक बस्न नसक्ने भएपछि सचिवालयले आजै अपराह्न ३ः१५ बजे बस्ने गरी निर्धारण गरेको थियो । यसबीचमा दलहरुबीच सहमति जुट्न नसकेपछि बैठक भोलि १ बजेका लागि तोकिएको थियो । 
 
प्रतिनिधिसभाको यसअघिको बैठकमा ‘तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा सञ्चालित सशस्त्र सङ्घर्षलाई सत्तारुढ नेकपा (एमाले)का सांसदले ‘हिंसा’का रुपमा टिप्पणी गरी असंवैधानिक शब्द प्रयोग गरेको’ भन्दै माओवादीले यसअघिको संसद् बैठक अवरुद्ध गरेको थियो ।
 
माओवादी केन्द्रले संसद् बैठकमा प्रस्तुत भएको ‘माओवादी हिंसा’ भन्ने शब्द संसद्को रेडर्कबाट नहटाएसम्म बैठक चल्न नदिने बताउँदै आएको थियो । आइतबारका लागि निर्धारित बैठक सञ्चालन गर्ने विषयमा सभामुख देवराज घिमिरेले सिंहदरबारमा राष्ट्रिय पार्टीका प्रमुख सचेतकसँग गर्नुभएको छलफल बिना निष्कर्ष टुङ्गिएको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  २२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update