Mero Chitwan
किसानले अझै पाएनन् दूधको भुक्तानी, प्रशाेधन उद्योग ५ महिनादेखि बन्द

चितवन-गत फागुनयताको ७४ करोडभन्दा बढीको भुक्तानी रोकिएपछि चितवनका दुग्ध उत्पादक किसान समस्यामा परेका छन् । 

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार दुग्ध विकास संस्थानले मात्रै ३३ करोडभन्दा बढी भुक्तानी  दिन बाँकी छ । जिल्लाका एक सय १५ सहकारी संस्थाले संस्थानसहित ४२ उद्योगलाई बिक्री गरेको दूधको भुक्तानी बाँकी रहेको हो ।

भुक्तानी माग गर्दै सङ्घले विभिन्न निकायमा पटकपटक ध्यानाकर्षण गराउँदासमेत भुक्तानी नपाएको बगालेको भनाइ छ  । जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने गर्दछ । त्यसमध्ये एक लाख ५१ हजार लिटर दूध जिल्ला बाहिर जाने गर्दछ । बगालेका अनुसार काठमाण्डौं, पोखरा, मकवानपुर, भक्तपुर, ललितपुर लगायतका जिल्लामा यहाँबाट दूध जाने गरेको छ ।

डेरी उद्योगले दूध बिक्री नभएपछि पाउडर र नौनी बनाएर राखेका छन् । ती सामग्री बिक्री नहुँदा भुक्तानी गर्न नसकेको उद्योगहरुले जनाउँदै आएका छन् । 

दूध नपाउँदा प्रशोधन उद्योग ५ महिनादेखि बन्द

यता चितवन मिल्क उद्योग भने प्रशोधन गर्न दूध नपाउँदा  गत वैशाखदेखि बन्द अवस्थामा छ । उद्योगले सहकारी र निजी फार्मबाट आएको दूध शुल्क लिएर प्रशोधन गरी पठाउने गरेको थियो । धुलो दूध र नौनी बिक्री नभएपछि उद्योगका गोदाम दुग्धजन्य पदार्थले भरिएका थिए । ती सामग्री घट्दै गएको भए पनि उद्योग भने सञ्चालन हुन सकेको छैन ।

उद्योगका प्रबन्धक दुर्गा पराजुलीले पाँच महिनादेखि उद्योग बन्द भएको बताए ।  विभिन्न सङ्घ संस्थालाई दूधका लागि आग्रह गरिएको भए पनि पाउन नसकिएको उनले बताए। एक पटक सञ्चालन गर्नका लागि कम्तीमा ४० हजार लिटर दूध आवश्यक पर्दछ । उद्योगले एक सिफ्टमा एक लाख लिटर दूध प्रशोधन गर्न सक्छ ।

सहकारी र फर्मले दूध नल्याएपछि आफैले दूध किनेर भए पनि मेसिन सञ्चालनका लागि उद्योग चलाउने योजनामा रहेको पराजुलीले बताए ।  गएको वर्ष यो मौसममा दूधको अभाव थिएन । 

उद्योगमा ३३ जना कर्मचारी रहेका छन् । उद्योग सञ्चालन नहुँदासमेत मासिक रु १५ लाख खर्च हुने पराजुली बताउँछन् । गत वर्ष प्रशोधन सामग्री सम्बन्धित सहकारी र फर्मले नलगेपछि दुई पटक झण्डै दुई महिना भण्डारणको अभावमा उद्योग बन्द गर्नु परेको थियो ।

केही दिन अघि उद्योगले २० हजार लिटर दूध खरिद गरेर मेसिन सञ्चालन गरेको थियो । मेसिन लामो समय बन्द रहँदा बिग्रने भएकाले दूध आफै किनेर समय समयमा सञ्चालन गरिँदै आएको छ । पराजुलीले भने, 'हामीले दूध किन्छौं भन्दा पनि पाएका छैनौं, आउँदो हप्ता सर्लाहीमा एउटा संस्थाले दिन्छु भनेको छ ।'

विसं २०७५ देखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दूधको रु एक सय १३ र घ्यू (बटर) को प्रतिकिलो रु ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ । विसं २०६४ मा स्थापना गरिएको उक्त उद्योग भूकम्पसँगै बन्द भएको थियो । उद्योग भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको छ । रासस

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  २३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update