काठमाडौं-नेपाल प्रिमियर लिग-एनपीएल खेल्ने ८ फ्रेन्चाइज टोलीका मार्की खेलाडी चयन भएका छन् । टिम काठमाडौंको मार्की करण केसी हुनेछन् ।
काठमाडौंमा शनिबार फ्रेन्चाइज टिमले गोलाप्रथाबाट मार्की खेलाडी छानेका हुन् । क्यानले राष्ट्रिय टिमका आठ खेलाडीलाई मार्की खेलाडीका रुपमा उपलब्ध गराएको थियो । गोलाप्रथामा पहिलो अवसर पाएको काठमाडौंले करण प्राप्त गरेको छ ।
कुशल भुर्तेल पोखराको र कुशल मल्ल चितवनको मार्की खेलाडी रहनेछन् । विराटनगरमा सन्दीप लामिछाने, जनकपुरमा आशिफ शेख र लुम्बिनीमा रोहित पौडेल मार्की खेलाडीका रुपमा आवद्ध भएका छन् ।
यस्तै कर्णालीले सोमपाल कामी पाउँदा सुदूरपश्चिममा दीपेन्द्र सिंह ऐरी रहनेछन् । प्रत्येक मार्की खेलाडीले एक सिजनका लागि २० लाख रुपैयाँ प्राप्त गर्नेछन् । एनपीएलको सुरुवाती चरणमा सबै मार्की खेलाडीले समान रकम पाउन् भन्ने उद्देश्यले गोलाप्रथा गरिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
मार्की खेलाडी कम्तीमा तीन वर्षका लागि टिमसँग रहनेछन् । तर फ्रेन्चाइजले हरेक वर्ष रिटेन र रिलिज गर्न सक्ने प्रावधान पनि राखिएको छ । क्यानले दशै अगाडि खेलाडीको अक्सन गर्ने जानकारी दिएको छ । क्यानको आयोजनामा हुन लागेको एनपीएलको पहिलो संस्करण आगामी मंसिर १५ देखि पुस ६ गते हुनेछ ।