Mero Chitwan
निबन्ध : जिज्ञासा

मैले केही दिन अघि बजारबाट एउटा पाइन्टको कपडा किनेर ल्याएँ । मैले यो कपडा अत्यन्त आवश्यक परेकाले ल्याएको थिइनँ । मलाई कपडा फेरि-फेरि लगाउने सोख पनि छैन । यो कपडा सरकारले तोकिदिएको कार्यालयको पोशाक पनि होइन । यदि पोशाक भइदिएको भए पनि अहिले मलाई त्यसको आवश्यकता थिएन । मैले जागिरबाट अवकाश लिएको पनि निकै वर्ष पुगिसकेको छ । तर पनि जागिरसँग कुनै सम्बन्ध छैन भन्न भने म कसैगरी पनि सक्दिन । किनकि मैले बिहान बेलुकी हातमुख जोर्ने प्रमुख माध्यम नै मेरो त्यही छोडिसकेको जागिर हो । सरकारले दिने गरेको निवृत्तिभरण नहुने हो भने सायद मैले अनगिन्ती आर्थिक कठिनाईको सामना गर्नुपर्ने थियो। जेहोस् वर्तमान समयमा मैले तोकिएको पोशाक लगाउनु पर्दैन ।

म खेतबारीमा गएर शारीरिक श्रम गर्न सक्दिन । मैले जीवनको अत्यन्त महत्वपूर्ण र उर्जाशील समय सरकारी जागिरमा सुम्पिएँ । काम गर्न सक्ने मुख्य समय त्यसरी सुम्पिएपछि प्राप्त भएको निवृत्तिभरण म जस्तै अधिकांश मान्छेहरूको सहारा बन्ने गरेको छ ।

शारीरिक रोग र बुढ्यौली उमेरका कारण श्रम गर्ने बाटो थुनिएको केही समय भयो । श्रम गर्न नसके पनि मान्छेले बाचुन्जेल लाउनु र खानु पर्छ । बिना आम्दानी लाउन खान सजिलो पनि छैन । चोरी गर्ने कुरा सोच्न पनि सकिदैंन । भिखारीले झैं भिख माग्ने कुरा पनि भएन । त्यसैले जीवन सहज जिउने हो भने , आर्थिक अवस्था दह्रो नहुनेले कुनै पनि प्रकारको भौतिक सुखसुविधाका लागि विशेष प्रकारको सोख पाल्नु हुन्न र रहर पनि गर्नु हुँदैन । त्यतिमात्र होइन सकिन्छ भने त्यस विषयमा जिज्ञासा पनि नराखे हुन्छ ।‌ भनिन्छ " मान्छेले साना ठूला र वसमा भए नभएका सबै थरी सपना देख्नुपर्छ ।‌" सपना र जिज्ञासा एउटै विषय होइनन् ।‌ सपना उन्नति र प्रगतिको देखिन्छ तर जिज्ञासा जुनसुकै विषयमा पनि जाग्ने गर्छ ।

मलाई लाग्यो,मैले त्यो पाइन्टको कपडा किन किनेर ल्याएँ ? तत्काल आवश्यकता नपर्ने वस्तु खरिद नगरेको भए पनि हुने थियो । मैले मात्र होइन, यदाकदा अन्य केही मान्छेहरूले पनि यसरी अनावश्यक वस्तु खरिद गर्ने गर्छन् । यसो हुनुका पछाडि अनौठो अदृष्य शक्ति जिम्मेवार हुन्छ । के हो त्यो अदृष्य शक्ति ? मलाई लाग्छ मनमा कतै न कतै अलिकति लोभ , ईर्श्या, देखासिकी र जिज्ञासाले यहाँ महत्वपूर्ण भूमीका खेलेको हुन्छ । हरेक मान्छेको अन्तरमा बास गर्ने बेइमानी अदृष्य शक्ति, सायद यही मनभित्रको देखासिकी र अर्को शब्दमा जिज्ञासा हो ।

त्यो पाइन्टको कपडा खरिदपछि मेरो मनमा यस्तै द्विविधा उत्पन्न भएको थियो । यसरी द्विविधा उत्पन्न भएको पहिलो पटक भने होइन , जीवनमा केही गर्दा , केही निर्णय लिनुपर्दा यसरी नै द्विविधा उत्पन्न हुन्छ। लाग्छ मनमा यसरी द्विविधा हुने गरि कुनै विषयले प्रवेश नगरि दिने हो भने जीवन कति सहज हुँदो हो ! यो पाइन्ट पर्वमा, न मलाई घर परिवारबाट पाइन्ट खरिद गरिएको विषयमा कुनै मौखिक तथा लिखित स्पष्टीकरण नै सोधिएको थियो ! यो त केवल मेरो मनभित्रको जिज्ञासाका कारण मात्र म द्विविधामा परिरहेको थिएँ । मैले त्यो पाइन्टको कपडा फिर्ता गर्न पनि सक्दिन । किनकि कपडा फिर्ता गर्दा मेरो नैतिकतामा प्रश्न उठ्न सक्थ्यो ! पसलेको नजरमा म प्रति हेर्ने बिश्वासमा आँच आउन सक्थ्यो ।

अन्तत: केही क्षणको मन भित्रको अन्तर्द्वन्द्वपछि मैले पाइन्ट सिलाउने निर्णय गरेको थिएँ। मेरो मनमा अचम्मसँग एउटा जिज्ञासा उब्जिएको छ , त्यो पाइन्ट सिलाइ सकेपछि मलाई सुहाउँछ या सुहाउँदैन ? त्यो लगाउँदा म कस्तो देखिन्छु ? म टेलरिङ्ग सेन्टरको बिल झिकेर हेर्छु । म कपडाको गुणस्तर र रङ्ग जाँच गर्दै, बिलमा नत्थी गरिएको कपडाको सानो टुक्रामा निकै बेर हराउँछु । निकै ध्यान दिएर बिलमा लेखेको अक्षर र अङ्कहरू पढ्छु ।

थोरै रकम अग्रीम भुक्तानीका रुपमा बुझाए पनि केही रकम अझै बुझाउनुपर्ने स्पष्ट देखिएको छ । वितरण मिति लेखेको अघिल्लो दिन नै म पाइन्ट लिन पुगेको थिएँ । पाइन्ट तयार भएको थिएन । आखिर तोकिएको दिनभन्दा अघि तयार हुने कुरा पनि त भएन ! मैले यसरी हतार गर्नुमा मेरो जिज्ञासाले महत्वपूर्ण भूमिका खेलेको थियो ।

पाइन्ट कस्तो बन्यो होला ? लगाउँदा कस्तो होला ? म भित्र यही जिज्ञासाले घर गरिरहेको थियो । जुन तत्कालका लागि जरुरी पनि थिएन । जाबो एउटा सामान्य कपडामा त यति विधि जिज्ञासा उत्पन्न हुनेरहेछ भने अनेको नविन कार्य , नविन अनुभव, नविन प्रयोग र सम्पूर्ण जीवनको भविष्य कस्तो हुन्छ भनेर मान्छे जिज्ञासु बन्नु के आश्चर्य भयो ? तर मभित्र अर्काले लगाए जस्तै पाइन्ट लगाउने मानवीय स्वभाव अनुसारकै जिज्ञासा उत्पन्न भएको हो । यस प्रकारको जिज्ञासाले मनमा शान्ति र ज्ञान प्राप्त गर्न सकिदैंन । पाइन्ट सिलाएपछि केवल एउटा सामान्य भौतिक वस्तु प्राप्त हुन्छ त्यो पनि बिना अर्थको । यसले त केवल मनभित्र क्षणिक उत्साह र उमङ्ग मात्र दिएको हुन्छ । तर त्यो भन्दा बढी यसले केही द्विविधा दिन्छ । जसका कारण मनमा थप अशान्ति थपिन्छ । मलाई लाग्छ मनभित्र उत्पन्न हुने सबै प्रकारका जिज्ञासाहरू एकै प्रकारका हुँदैनन् । यसैले जिज्ञासा पुरा गर्दा निकै विचार पुर्याउनु पर्ने रहेछ ।

मान्छे भित्र जिज्ञासा उत्पन्न हुन थालेको आजबाट होइन, मानव जिज्ञासा सृष्टिको प्रारम्भदेखि मान्छेमा थियो । रावणलाई सीताको सुन्दरताले लठ्ठ बनायो र उनलाई पत्नी बनाए कसो होला भन्ने जिज्ञासा जाग्यो । जुन जिज्ञासाका कारण उसको ज्यान गयो । एकलव्यको मनमा द्रोणाचार्यसँग धनुष वाणको प्रशिक्षण लिन पाए कस्तो हुन्थ्यो होला भन्ने जिज्ञासा उत्पन्न भएको थियो । जसका कारण उसले दायाँ हातको बुढी औंला गुमाउनुपरेको थियो । यी थिए, जिज्ञासाका कारण उत्पन्न भएका नोक्सानीहरू । मन भित्र उत्पन्न हुने जिज्ञासाले नोक्सान मात्र गर्दैनन् । सकारात्मक जिज्ञासाले जीवन बदल्न पनि सक्छ । कपिलवस्तुका राजा शुद्धोधन पुत्रलाई ज्ञान प्राप्त गर्ने जिज्ञासाले सामान्य युवराजबाट बुद्ध दर्शनको संस्थापक र धेरैको नजरमा बुद्धलाई भगवान बनाइदिएको थियो ।

मान्छेका मनभित्रका जिज्ञासाका कारण निकै टाढाको चन्द्रमा आज मान्छेको लागि पानी पँधेरो बनेको छ । चन्द्रमा कस्तो होला भन्ने जिज्ञासाको उत्तर पाइएको छ । संसारमा जतिपनि नयाँ नयाँ वस्तुको आविष्कार भएको छ, यी सबै मानव जिज्ञासाका कारण सम्भव भएको हो । मान्छेमा मुख्यतया दुई प्रकारका जिज्ञासाहरू हुन्छन् । भौतिक ज्ञान अभिवृद्धि हुने जिज्ञासा र आध्यत्मिक जिज्ञासा ।

। एउटा प्रसिद्ध भनाइ छ  "जिज्ञासा ज्ञानकी माता हुन् ।” यथार्थमा संसारमा जति पनि ज्ञान र विज्ञानको उन्नति भएको छ, सबै मानव जिज्ञासाका कारण सम्भव भएका हुन् । यिनै जिज्ञासाका कारण विभिन्न प्रकारका विषयको ज्ञान प्राप्त गरेर मान्छेले यति प्रगति गर्यो कि, आजसम्म जतिपनि विकास र प्रगति भएको छ केवल मानव जिज्ञासाको कारण मात्र सम्भव भएको मानिन्छ ।

बाँकी रह्यो अर्को जिज्ञासाको, यो आत्मतत्वसँग सम्बन्धित छ । मान्छेले आत्मा र परमात्माको बारेमा जान्ने प्रवल इच्छालाई आत्मज्ञान भनिन्छ । वेदको अध्ययन गर्ने जिज्ञासाले उपनिषद र मीमांसा जन्मिन पुगे । जसले मान्छेलाई शान्ति दिए र अनुशासित बनाए । यसै कारण मान्छे मान्छे विच, बन्धुत्व र भातृत्वको विकास भयो । जसको खोजी गर्दै जरोसम्म पुग्ने हो भने यसको जस मानव जिज्ञासालाई दिनुपर्ने हुन्छ ।

लाग्छ, मान्छेको जीवन जिज्ञासै जिज्ञासाले भरिएको उपन्यास जस्तै रहेछ । जीवनको कथाले अब कुन मोड लिन्छ ? मलाई जस्तै हरेक मान्छेहरूमा यस्तै जिज्ञासा लागेको हुनुपर्छ । सायद जीवन प्रति जिज्ञासा नहुने मान्छे हुँदै हुँदैन । कसैले , होइन जीवन प्रति पटक्कै जिज्ञासा छैन भन्छ भने त्यो मान्छेको सासको डोरी कि त चुँँडिन लागेको हुनुपर्छ कि चुँडिसकेको हुनुपर्छ ।

जिज्ञासा एक प्रकारको अनुभूति हो । जसले जीवित प्राणीहरू, खासगरि मान्छेलाई नयाँ विषयहरू सिक्न मद्दत गर्ने गरेको हुन्छ । यो भावना, मान्छेको आधारभूत र जन्मजात भावना हो । हरेक मान्छेमा यस प्रकारको भावना हुनुपर्छ । यदि छैन भने त्यो मान्छे र कुनै एक जड वस्तु बीच के नै फरक रहन्छ र ?

मान्छे किन जिज्ञासु हुन्छ ? भनिन्छ, नयाँ र जटिल कुराहरूले मस्तिष्कमा अनिश्चितताको भावना पैदा हुन्छ । जिज्ञासाले यस अनुभूतिबाट राहत प्रदान गर्दछ जसले जीवित प्राणीहरूलाई असन्तुष्टि महसुस गराउँछ। नयाँ र जटिल चीजहरूको बारेमा जानकारी भएपछि आफसेआफ असन्तुष्टि कम हुदैं जान्छ । जब असन्तुष्टि कम हुन्छ, मान्छे खुशी हुन्छ । उसको मनमा उब्जिएका तनावहरू आफै ठिक हुन थाल्छन् । यही असन्तुष्टिका कारण केही समय मैले त्यो पाइन्टको कपडामा महत्वपूर्ण समय खर्च गरेको थिएँ । मैले त्यस्तै पाइन्ट कसैले लगाएको देखेको थिएँ । उसलाई एकदमै सुहाएको थियो । चिटिक्क परेको देखिएको थियो । समग्रमा उसको व्यक्तित्वमा समेत निखार आएको महसुस गरेको थिएँ । त्यस्तै पाइन्ट लगाउँदा मलाई कस्तो होला ? म पनि ऊ जस्तै चिरिच्याट्ट देखिन्छु कि देखिन्न होला ? यो पाइन्ट खरिदमा मलाई त्यही जिज्ञासाले उक्साइरहेको थियो ।

मनको जिज्ञासा मेटाउन मैले मेरो शारीरिक बनावट , मेरो छालाको रङ्ग , मेरो उचाइ र मोटाइ तर्फ पटक्कै ध्यान पुर्याउन सकिन । शरीरमा लगाउने कपडा मिल्न ,सुहाउन यिनै कुराहरूले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । मेरो मात्र होइन, यस तर्फ कमै मात्र मान्छेहरूको ध्यान पुग्ने गरेको छ ।

जिज्ञासाले मान्छेलाई नयाँ कुरा सिक्ने अवसर त दिन्छ तर कहिलेकाहीं जिज्ञासा निकै खतरनाक सावित हुने गरेको छ । अवैधानिक यौन जिज्ञाशा, अपराधिक कार्यको जिज्ञासालाई यसको ज्वलन्त उदाहरणका रुपमा लिन सकिन्छ ।

मान्छेको सबैभन्दा ठूलो कमजोरी यही हो , सबै मान्छेले नयाँ र जटिल चीजहरूको सामना गर्न सक्दैनन् । विषको स्वाद कस्तो होला भन्ने जिज्ञासाले मान्छेको ज्यान जानसक्छ । जाँड रक्सीको स्वाद र यसबाट प्राप्त हुने आनन्दको जिज्ञासाले मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्छ । जुवा खेल्ने जिज्ञासाले घरबार जान सक्छ ।

मानिसहरू किन जिज्ञासु हुन्छन् भनेर व्याख्या गर्ने सामर्थ्य मसँग छैन । यो त मान्छेको जन्मजात स्वभाव हो । उदाहरणका लागि, मान्छेमा जिज्ञासा उत्पन्न भएपछि उसले रोचक चीजहरू खोज्ने प्रयास गर्छ , त्यसको अनुभव गर्न चाहन्छ । तर उसले जिज्ञासा मेटाउने बाटोको विषयमा भने बेवास्ता गरिरहेको हुन्छ । यस्तो अवस्थामा उसले नयाँ प्रयोग गर्न उत्तेजनाको स्तर बढाउँछ। मानसिक उत्तेजना त्यस्तो उत्तेजना हो , जसमा मान्छेले सही र गलत विषयको तत्काल पहिचान गर्न सक्दैन । जिज्ञासा मेट्ने उपक्रममा सबैभन्दा होसियारी यसै अवस्थामा पुर्याउनु पर्छ । मेरो मनभित्र पनि अनगिन्ती जिज्ञासाहरू छन् । तर बाध्यतावश ती सबै जिज्ञासा मेटाउन म असमर्थ छु ।

चितवन।

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update