Mero Chitwan
कैलालीमा बाढी : छ सय ३६ जनालाई सुरक्षित स्थानमा सारियो

कैलाली- कैलालीमा बाढीको जोखिममा परेका छ सय ३६ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

अविरल वर्षाका कारण बिहीबारदेखि नदीमा बाढी गएपछि जोखिममा रहेका एक सय ६२ घरका छ सय ३६ जनालाई आज सुरक्षित स्थानमा सारिएकोे जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । 

कैलालीका पथरिया, कटैनी, काँडालगायतका नदीमा गएको बाढीका कारण जानकी गाउँपालिका–४ सुकम्वासी टोल, कैलारी गाउँपालिका–७ वसन्ता, जोशीपुर गाउँपालिका–३ भितरीया, कैलारी–५ मनिकपुर, भजनी नगरपालिका–८ र ३  अन्तर्गतका स्थान डुबानमा परेका उहाँले बताउनुभयो । सूचना अधिकारी जोशीकानुसार ३४ जनालाई जानकी गाउँपालिका–४,  ९४ जनालाई जानकी गाउँपालिका–७ फरेला, चार सय जनालाई टिकापुर नगरपालिका–८ वनगाउँस्थित सुरक्षित स्थानमा सारिएको छ । यस्तै, ११ जनालाई जोशीपुर गाउँपालिका–३ भितरियास्थित जनहित सामुदायिक वनको भवन, ७७ जनालाई भजनी नगरपालिका–९ कुणी खुरखरिया स्थित गुप्तेश्वर आधारभुत विद्यालयमा सारिएको पनि जोशीले जानकारी दिए । 

आठ जनालाई कैलारी गाउँपालिका–५ स्थित सुरक्षित घरमा, चार जनालाई गोदावरी नगरपालिका–११ स्थित लालमणी पनेरु, आठ जनालाई सोही स्थानका राधिका ढोली र  मधुरा दमाईको घरमा सारिएको छ ।

जिल्लामा छ सय परिवारका दुई हजार सात ८२ व्यक्ति बाढीबाट प्रभावित भएका छन् । अविरल वर्षापछिको बाढीबाट दुई जना घाइते भएका छन् । बाढीले छ कच्ची घर र पाँच बिघा जमिन कटान गरी क्षति पुर्‍याएको सूचना अधिकारी जोशीको बताए । 

जिल्लाका धेरै स्थानमा भारी वर्षा भएको र थप वर्षा हुने सम्भावना रहेको जनाइएको  छ । मोहना, खुटिया, कान्द्रा, घुराहा, कटैनी, पथरिया नदीको जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र र डुबान हुने स्थानका नागरिकलाई उच्च सतर्कता सअपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  २३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update