Mero Chitwan
पल्सर स्पोर्टस अवार्ड : रोहित र एरिका गुरुङ वर्षको उत्कृष्ट खेलाडी

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र करातेकी एरिका गुरुङ वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । 

नेपाल खेलकुद पत्रकार मञ्चले आज गरेको पल्सर स्पोर्टस अवार्डमा रोहित पुरुषतर्फ र एरिका महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भएका हुन् । रोहितले आफ्नै सहकर्मी दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, गल्फका सुवास तामाङ र करातेका मोहमद शेख आलमलाई पछि पार्दै उक्त अवार्ड जितेका हुन् । 

रोहितको कप्तानीमा नेपालले वर्ष २०८० मा एसिसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा स्थान बनाएको थियो । यसैगरी आइसिसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनल पुग्दै नेपाल १० वर्षपछि विश्वकपमा छनोट हुँदा पनि नेपाली टिम रोहितकै कप्तानीमा थियो ।

  रोहितले २०८० मा २५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दा ३ अर्धशतक सहित ६८० रन बनाएका थिए । यसैगरी उनले पाँच विकेट पनि लिएका थिए । उनले यो वर्ष २३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ३ अर्धशतसहित ५२५ रन बनाएका थिए भने १० विकेट पनि लिएका थिए । उत्कृष्ट पुरुष खेलाडीको अवार्डसँगै उनले एक थान पल्सर मोटरसाइकल पुरस्कार पाएका छन् । 
 
    त्यसैगरी चीनको हाङचाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा देशका लागि ऐतिहासिक रजत पदक दिलाउन सफल भएकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । उक्त अवार्डका लागि  कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी सावित्रा भण्डारी र एथलेटिक्सकी सन्तोषी श्रेष्ठ मनोनयनमा परेका थिए ।

 यसैगरी नेपाली राष्ट्रिय भलिबल टोलीकी कविता भट्टले पिपल्स च्वाइस अवार्ड जित्न सफल भइन् । नेपाल काभा महिला नेसन्स लिग २०२४ मा नेपाल दोस्रो हुँदा र काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मा तेस्रो हुँदा उनी नेपाली टोलीकी सदस्य थिइन् । उक्त उपाधिका लागि गुलशन झा (क्रिकेट), मानमति विष्ट (कबड्डी) प्रीति राई (फुटबल) र श्रीराम श्रेष्ठ (रग्बी) का खेलाडी नाम मनोनयनमा परेका थिए ।

 नेपालमा क्रिकेटमा महत्त्वपूर्ण योगदान पुर्‍याएका विनयराज पाण्डे ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) का पूर्वअध्यक्षसमेत रहेका पाण्डे जयकुमारनाथ शाहको नेतृत्वमा क्रिकेट सङ्घ स्थापना हुँदा  महासचिव थिए। त्यस्तै २००५ देखि २०११ सम्म उनी अध्यक्ष भए । पाण्डे क्रिकेट सङ्घको नेतृत्वमा रहँदा नेपाल क्रिकेटको विकासको श्रृखला तयार भएको थियो भने नेपाली क्रिकेटको अन्तराष्ट्रिय सम्बन्ध स्थापनामा उनले उल्लेख्य भूमिका निर्वाह गरेका थिए । 

  त्यस्तै भारोत्तोलन खेलका हेमन्त पाल प्लेयर अफ दि इयर घोषित भए ।  उनले भारतमा भएको एसियाली जुनियर भारोत्तोलनमा तीन कांस्य पदक जितेका थिए ।   पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पारा एथलिट अवार्डको उपाधि जितिन् । यसै महिना फ्रान्सको पेरिसमा सम्पन्न पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी पलेशाले पारा एथलिट अवार्ड जितेकी हुन् । तर यो अवार्ड भने उनले १९ औं एसियाली खेलकुदमा ऐतिहासिक कास्य जितेको कारण प्राप्त गरेकी हुन् । 

त्यसैगरी पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत स्पेशल अवार्ड भने भलिबलका कुमार राईले प्राप्त गरे। उनले नेपाली भलिबल खेलमा राष्ट्रिय टिमलाई अनि विभागीय टिमको लागि थुप्रै स्टार खेलाडी जन्माउन महत्त्वपूर्ण योगदान दिएका थिए।   पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत टिम अफ दी इयरको अवार्ड भने नेपाली राष्ट्रिय महिला कबड्डी टिमले जितेको छ । चीनको हाङचाउमा भएको १९औँ एसियाली खेलकुदमा राष्ट्रिय महिला कबड्डी टिमले ऐतिहासिक कास्य पदक जितेको थियो । नेपालले टिमतर्फ जितेको यो पहिलो पदक थियो । 

यसैगरी १९औँ एसियाली खेलकुदमा नेपाललाई रजत जिताउने करातेका प्रशिक्षक कुशल श्रेष्ठ वर्ष उत्कृष्ट प्रशिक्षक घोषित भए । यस अवार्डको लागि श्रेष्ठसँगै राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाई, कबड्डीकी पार्वती राई, पारा ओलम्पिकका कविराज नेगी लामा, भारात्तोलनका प्रशिक्षक सञ्जय महर्जन मनोनयनमा परेका थिए ।

वर्ष पुरुष, वर्ष महिला, वर्ष प्रशिक्षक, वर्ष युवा र पिपल्स च्वाइस अवार्ड विजेतालाई जनही एक एक थान बजाज पल्सर मोटरसाइकल प्राप्त गरे भने बाँकीका विजेताले जनही रु एक लाख प्राप्त गरे । विजेतालाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव आयोजकका अध्यक्ष दुर्गानाथ सुवेदीलगायतले पुरस्कार प्रदान गरे । 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  २२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update