Mero Chitwan
किन हटाउन चाहन्छन् कांग्रेस र एमाले उपसभामुख रानामगरलाई ?

काठमाडौं-सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेका छन् । पदीय मर्यादा र आचरण विपरीत काम गरेको आरोप लगाएका उनीहरुले उपसभामुख रानालाई राजीनामा दिएर मार्गप्रसस्त गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको गठबन्धन दलको बैठकमा उपसभामुखलाई हटाउने विषयले प्रवेश पाएको थियो । प्रधानन्यायाधीशलगायतका संवैधानिक नियुक्तिमा अप्ठेरो हुने भयो भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख रानालाई मार्गप्रशस्त गर्न आग्रह गर्नुपर्ने बताएका हुन् । 

सुरूमा रानालाई आग्रह गर्ने र नमानेको अवस्थामा महाअभियोग लगाएर हटाउनेसम्मको तयारी छ ।

मंगलबारको प्रतिनिधिसभा बैठक पनि यो विषयले तातेको थियो। बैठकको सुरुमै बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सत्तारुढ दलको यो कार्यले लोकतन्त्र नै खतरामा पर्ने बताउँदै आन्दोलन गर्ने चेतावनीसम्म दिए। माओवादी केन्द्रका देवेन्द्र पौडेल तथा हितराज पाण्डेलगायतले पनि सत्तारुढ दलको विरोध गरेका थिए ।

तर एमाले तथा कांग्रेसका सांसदहरु गोकुल बास्कोटा, धनराज गुरुङलगायतले उपसभामुखलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । राजीनामा माग गर्दैमा लोकतन्त्र खतरामा नपर्नै उनीहरुको तर्क थियो । 

सत्तारुढ दलको बैठकमा आफूलाई हटाउनेबारे छलफल भएको सूचना पाएपछि उपसभामुख रानाले मंगलबार बिहान संघीय सचिवालयका प्रवक्तासहितका पदाधिकारीहरुसँग लामो छलफल गरेकी थिइन्। उनलाई हटाउन प्रतिनिधिसभामा दुई तिहाइ अर्थात १ सय ८४ सांसदको समर्थन चाहिन्छ । जुन अहिले गठबन्धन सरकारसँग छ । सत्ता गठबन्धनमा कांग्रेस, एमाले, जनमत, लोसपा, नागरिक उन्मुक्ति र जसपाका गरी १ सय ८७ सांसद छन् । विपक्षी माओवादी केन्द्र र रास्वपाले भने संवैधानिक परिषद्‍मा आफ्नै प्रतिनिधित्व बढाउन सत्ता पक्षले उपसभामुखलाई हटाउन खोजेको आरोप लगाएका छन् । तर गठबन्धन दलले उपसभामुख रानामाथि पदीय दुरुपयोग गरेको गम्भीर आरोप लगाएका छन् ।

उपसभामुख रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिकामा लग्ने गरी पत्र लेखेको सार्वजनिक भएको थियो । संयुक्त राष्ट्र संघको संयन्त्र कमिसन अन द स्टाटस अफ वुमेनको ६७औं सत्र २०७९ साल फागुन २२ देखि चैत ३ गतेसम्म अमेरिकाको न्यूयोर्कमा भएको थियो । त्यही कार्यक्रममा भाग लिन जान लागेको उपसभामुखले महिला अधिकारको अभियानसँग असम्बन्धित ४ पुरुष र एक महिलालाई आफूसँग लाने प्रक्रिया अघि बढाएकी थिइन् । 

आफूसँगै ६ जना यो कार्यक्रममा जान लागेको भन्दै उहाँले भिसाको अन्तर्वार्ता छिटो गरिदिन अमेरिकी दूतावासलाई उपसभामुखको लेटरप्याड प्रयोग गरेर पत्र लेखेकी थिइन् ।  जबकि, संसद्का पदाधिकारी, सांसद र कर्मचारीको भिसा प्रक्रिया संसद् सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखामार्फत परराष्ट्रय मन्त्रालयले गर्छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  २३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update