Mero Chitwan
यसरी मनाए कलाकारले तीज

काठमाडौँ-शनिबार सबेरै नुहाएर घरकै मन्दिरमा पूजा गरिसकेपछि अभिनेत्री केकी अधिकारी पाटन दरबार क्षेत्र पुगिन् । १५ वर्षदेखि तीजको व्रत बस्दै आएकी उनी सदाझैं यो वर्षको तीजमा पनि फलफूल र पानी खाँदै फिल्म सुटिङमा व्यस्त भइन् । 

उनी दिनभरि नै ‘के घर के डेरा’ फिल्मको सुटिङमा व्यस्त भइन् । व्रत बस्दा सकारात्मक सोच आउने र काम गर्नमा थप स्फुर्ति बढ्ने उनको अनुभव छ । तीजमा व्रत बस्नु उनका लागि स्वास्थ्यका दृष्टिले लाभदायक हुनु हो । 'तीजको बेग्लै धार्मिक महत्व छ', उनले भनिन्, 'म स्वस्थ्य रहन पनि तीजको व्रत बस्छु ।'

अभिनेत्री प्रियङ्का कार्की तीजमा म्युजिक भिडियो बनाउनमा व्यस्त भइन् । तीज पर्व कलाकारका लागि कमाउने उपयुक्त पर्व बन्न थालेको छ । कार्कीले जति तीज गीतको नृत्य गरेर यसको सांस्कृतिक महत्व दर्शकमाझ बुझाएकी छन्, त्यति उनको वास्तविक जीवनमा मेल खाँदैन । तीजको दिन उनी  चितवनमा ‘हिमालय रोडीज’ को सुटिङमै व्यस्त भइन् । उनलाई तीजपर्व मनाउन खासै जरुरी लाग्दैन । काम गर्नु नै उहाँको उत्सव हो । त्यसैले उनको विचारमा पर्व मनाउनु भनेको शरीरलाई दुःख दिनु होइन ।

गायिका सुनिता दुलाल प्रत्येक वर्षझैँ तीज मनाउन अष्ट्रेलिया पुगिन् । तीजमा नचाउन एक साताअघि अष्ट्रेलिया पुगेकी उनले यसअघि नेपालगञ्ज र सुर्खेतमा तीज सांस्कृतिक कार्यक्रम गर्न भ्याइन् । स्वदेशमा भन्दा विदेशमा रहेका नेपालीले तीज पर्व महत्त्वका साथ मनाउने गरेको उनको अनुभव छ । तीजमा व्रत बस्ने विषयमा थुप्रै गीत गाइसेकी गायिका दुलाल आफू भने तीजमा अहिलेसम्म व्रत नबसेको बताउछिन् । 'भोकै बसेर पर्व मनाउने होइन', उनी भन्छिन्, 'नाचेर, हाँसेर, गाएर रमाइलो गरेर तीज मनाउनु पर्छ ।  मैले यसरी मनाउँदै आएकी छु ।'

गायिका रितु कँडेलले तीज नारीहरुले सुखदुख साट्ने पर्वको रूपमा लिने गरेको बताइन् । दिनमा तीनदेखि चार ठाँउ तीज कार्यक्रममा पुगेर साङ्गीतिक प्रस्तुति दिएकी उनले  एक महिनामा राम्रो आम्दानी गरेको सुनाइन् । तीज गीत गाउनुका साथै गायिका कँडेल नारीलाई आफ्नो स्वास्थ्यका ख्याल गरेर मात्रै व्रत बस्न सुझाव दिन्छिन् । उनी फलफूल खाएर व्रत बस्छिन् भने अरुलाई रमाइलो गराएर तीज पर्व मनाउँछिन् । उनी भन्छिन्  'समय फेरियो । पर्व पनि फेरिँदैछन् । तीज अब आँसु झारेर होइन, उत्सव गरेर मनाउनु पर्छ ।'रासस

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  २२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update