बागमती-खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले आर्थिक वर्ष २०८०/८१ मा चितवनका ५ व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ ।
कार्यालयले चितवनका ५ सहित ४४ व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गरेको हो ।
कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट सो आवमा गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा मकवानपुरका सात, काठमाडौँका २४, चितवनका पाँच र धुलिखेलका आठ गरी ४४ व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको जनाइएको छ ।
अनुगमनका क्रममा सङ्कलन गरिएको नमूना परीक्षणका क्रममा स्वास्थ्य प्रतिकूल हुनेगरी मिसावट गर्ने, म्याद गुज्रेको सामान बिक्री गर्ने ३२ व्यवसायीविरुद्ध सम्बन्धित जिल्लाको जिल्ला अदालत र १२ जनाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख काशीनाथ घिमिरेले जानकारी दिए ।
उक्त आव मा सो कार्यालयले ऐन, नियमबमोजिम सङ्कलित तीन ५०, अनुज्ञापत्र तथा नवीकरण गर्न सङ्कलित दुई हजार ७४, अनुरोधात्मक नमूना एक सय ५२ र खाद्य स्वच्छता सर्भिलेन्सका लागि एक सय ६२ गरी दुई हजार सात ३८ नमूना विश्लेषण गरिएको प्रमुख घिमिरेले बताए ।
होटल तथा रेष्टुरेन्टको स्तरीकरण गर्न जनप्रतिनिधि, होटल व्यवसायी तथा सञ्चारकर्मीको रोहबरमा मुग्लिन, सौरहालगायतका स्थानमा सञ्चालित ४२ वटा होटल तथा रेष्टुरेन्टलाई स्तरीकरण तथा लोगो वितरण गरिएको छ । सो कार्यालयले उक्त आवमा विभिन्न शीर्षकमा रु २२ लाख ३२ हजार नौ सय ६० राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख घिमिरेले जानकारी दिए ।