Mero Chitwan
भरतपुर अस्पतालमा ओपीडी टिकट लिन टोकन प्रणाली सुरु

चितवन: बहिरङ्ग (ओपिडी) सेवाको टिकट लिन लामो समय लाइनमा उभिनुपर्ने समस्या समाधान गर्न चितवनको भरतपुर अस्पतालले टोकन प्रणाली सुरु गरेको छ । भीड व्यवस्थापनसँगै सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले टोकन प्रणाली सुरु गरिएको हो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) प्रा डा कृष्णप्रसाद पौडेलले  टोकन प्रणाली सुरु गरेसँगै बिरामीले आफ्नो पालोमा टिकट लिन र परीक्षण गर्न सहज भएको बताए । 

टोकन लिने समयमा बस्नका लागि ठाउँको समेत व्यवस्थापन गरिएको छ । 'पहिले टिकट लिन झण्डै एक घण्टा लाइनमा उभिनुपर्नेमा अहिले टोकन लिएपछि १० मिनेट पनि उभिनुपर्दैन,' पौडेलले भने । अस्पतालले टोकन लिएपछि एक सयभन्दा बढी बिरामी बस्न मिल्ने ठाउँ बनाएको छ । 

बिहान ७ बजेदेखि ९ बजेसम्म रिफिल काउन्टर सञ्चालन गरिएको छ । उक्त समयमा  दीर्घरोगी, जेष्ठ नागरिकलगायत बिरामीलाई सामान्य परीक्षण गरेर औषधि थप गर्ने गरिन्छ । ८ देखि १२ बजेसम्म विशेषज्ञसहित सबैका लागि बहिरङ्ग टिकट खुल्ला हुन्छ । ९ः३० देखि ४ बजेसम्म परीक्षण हुने गर्दछ । पुनः १ देखि २ बजेसम्म इएचएस, डेण्टल र जनरल ओपिडि (जिओपिडी) का लागि टिकट काउन्टर खुल्ला रहन्छ । यी सेवा पाँच बजेसम्म लिन सकिने डा पौडेलले बताए । अस्पतालले  बिहान ७ देखि बेलुका ५ बजेसम्म तीन सिफ्टमा सेवा दिएको उनको भनाइ छ । 

अस्पतालमा पछिल्लो समय एमआरआई सेवा थप गरिएको छ भने क्याथल्याब खरिदका लागि बोलपत्र आह्वान भइसकेको पौडेलले जानकारी दिए । उनका अनुसार अस्पतालमा ४० शय्या सघन उपचार कक्ष (आइसियु), २० शय्याको एनआइसियु, छ शय्याको पिआइसियुलगायत अति विशिष्टिकृत सेवा उपलब्ध छन् । 

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  २२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update