Mero Chitwan
पारा ओलम्पिकमा नेपालकी पलेशाले जितिन् ऐतिहासिक काँस्य पदक

काठमाडौं-पेरिस पारा ओलम्पिक्सअन्तर्गत पारा तेक्वान्दोमा नेपालकी पलेशा गोवर्धनले ऐतिहासिक पदक जितेकी छन् ।

के- ४४ महिला ५७ केजीमुनि तौल समूहमा कांस्य पदक जित्दै पलेशाले नेपाली खेलकुद इतिहास रचेकी हुन् । कुनै पनि ओलम्पिकमा आधिकारिक पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् । 

कांस्य पदकका लागि भएको रिपेचेजमा पलेशाले सर्बियाकी मारिजा मिकेभलाई १५-८ ले पराजित गरेकी हुन् । सुरुवाती २ मिनेट ३-० ले पछि परेकी पलेशाले त्यसपछि उत्कृष्ट पुनरागमन गरिन् । खेल सकिन १ मिनेट ५ सेकेन्ड समय बाँकी रहँदा खेल ७-७ को बराबरी अवस्थामा थियो । तर अन्तिम मिनेटमा निकै आक्रामक खेल प्रदर्शन गरेकी पलेशाले १५-८ को सानदार नतिजा हात पार्दै इतिहास रच्न सफल भइन् ।

पलेशाले रिपेचेजको पहिलो खेलमा घरेलु खेलाडी फ्रान्सकी सोफी काभरजानलाई २-१ को पराजित गरेकी थिइन् । उनी अन्तिम ८ मा विश्व नम्बर एक ब्राजिलकी सिल्भाना मायारा कार्डोसो फर्नान्डेससँग पराजित भएकी थिइन् भने राउन्ड आफ १६ को खेलमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० को फराकिलो अन्तरले पराजित गरेकी थिइन ।

यससँगै पलेशाले नेपाल सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछिन् ।  पलेशाका प्रशिक्षक कविराज नेगी लामाले ५ लाख ८५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै नेपाल तेक्वान्दो संघले ११ लाख ९२ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

यस अघि तेक्वान्दोका भरत सिंह महता के-४४, पुरुष ५८ के.जी मुनि तौल समूहअन्तर्गत राउन्ड अफ १६ जापानका मित्सुया टनाकासँग १९-३ ले पराजित भएका थिए । पेरिस पारालम्पिकमा सहभागी नेपालका तेस्रा खेलाडी भीम बहादुर कुमालले सोमबार पुरुषको ५० मिटर फ्रीस्टाइल एस नाइन क्याटगोरीमा आफ्नो चुनौती प्रस्तुत गर्ने छन् ।

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  ०६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update