Mero Chitwan
भरतपुर महानगरले ल्यायो ९ करोड ३ लाखको पूरक बजेट

चितवन :  भरतपुर महानगरपालिकाले ९ करोड ३ लाख रुपैयाँको पूरक बजेट ल्याएको छ । आईतबार १४ औं नगर सभाको बैठकमार्फत् पूरक बजेट ल्याइएको हो । उपमेयर चित्रसेन अधिकारीले विनियोजन ऐन, २०८० ले चालु आर्थिक वर्षको लागि विभिन्न बजेट खर्च शीर्षक तथा उपशीर्षक अन्तर्गत खर्च गर्न दिएको अख्तियारी रकम पर्याप्त नभएकले पूरक बजेट ल्याउनु परेको बताए।

साथै भरतपुर महानगरपालिकाको मर्मत सम्भार कोष खातामा बैकं मौज्दात रकम रु ५ करोड एवम् शहरी गरिब सहयोग कोष तथा भरतपुर वि.एम. रुप खातामा रहेको जम्मा रकम रु ७० लाख, समयमा कार्य सम्पन्न नगरी धरौटी जफत गरी प्राप्त भएको जम्मा रु ४२ लाख, महानगरपालिकाको अन्य खाता फ्रीज रु ८८ लाख गरी जम्मा रु ९ करोड आ.व. २०८०/८१ को लागि पूरक बजेट महानगर प्रमुख रेनु दाहालले बताईन् ।

पुरक बजेटबाट समपुरक साझेदारीकोषका लागि विद्युत प्राधिकरणसँग स्मार्ट लाईट साझेदारी कार्यक्रम २ करोड ६७ लाख, डी. पी. आर. तथा पूँजीगत परामर्श एवम् इआईएसमेत नपुग ३५ लाख, रोड मार्किङ्ग तथा क्याट आई एवं शहरी सौन्द्रयकरण ४० लाख, चोक सुधार कार्यक्रम थप १५ लाख, मानव सेवा आश्रम पुर्वाधार निर्माण ३५ लाख, दुध अनुदान नपुग थप ४५ लाख, कक्षा १–८ का दलित विद्यार्थी छात्रवृत्ती कार्यक्रम ३६ लाख, समपूरक साझेदारी २ करोड, मागमा आधारित विभिन्न योजनाहरु २ करोड, वडा नं १८ को विविध खर्च फ्रिज ६ लाख, ओपन जीम सामाग्री खरिद १० लाख, वालमैत्री वडा घोषणा कार्यक्रम नपुग थप ६ लाख, वडा नं १७ मा पूँजीगत कार्यक्रम चालु उपशीर्षकमा रहेको हुँदा पूजीगत कार्यक्रमको लागि स्रोत व्यवस्थापन ६ लाख रुपैयाँ विनियोजन गरिएको छ।

नगर सभालाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले महानगरको विकासमा दीर्घकालीन महत्त्व राख्ने आयोजनाहरू– महानगरीय रिङ रोड र लिङ्क रोड सञ्जाल विस्तार, अन्तर्राष्ट्रिय स्तरको सिटी हल, पुल्चोक गोन्द्राङ ६ लेनको सडक, बाइपास रोड र हुलाकी मार्ग विस्तार, शारदानगर, जखडीमाई, दिव्यनगर, पार्वतीपुर, मेघौली, धनगढा र चौकीडाँडा खानेपानी आयोजना लगायतका महत्त्वपूर्ण पूर्वाधार विकासका आयोजनाहरूमध्ये केही सम्पन्न भइसकेका छन् भने केही सम्पन्न हुने चरणमा रहेका बताईन्।

यसका अतिरिक्त नारायणी तटलाई सि–बिच मोडलमा विकास, नारायणी नदीको तटबन्ध, नारायणी नदी नियन्त्रण आयोजना, भरतपुर विमानस्थलको विस्तार तथा मेघौली विमानस्थलको स्तरोन्नति, नारायणी नदीमा सिग्नेचर ब्रिज निर्माण, ज्ञानेश्वर सामुदायिक वन परिसरमा ओपन जु तथा वडा नं. ६ मा वन्य जन्तु उद्दार केन्द्र निर्माण जस्ता दूरगामी महत्त्व र बृहत लगानीका आयोजना अगाडि बढिरहेका जानकारी दिईन्।संघ, प्रदेश र हाम्रो लगानीमा महानगरको प्रशासनिक भवनको निर्माण कार्य पनि द्रुत गतिले अगाडि बढिरहेको छ भने नेपाल ट्रष्टको स्वामित्वमा रहेको ऐतिहासिक दियालो बंगलालाई भरतपुर भ्रमण वर्षको सन्दर्भ पारी पर्यटनका लागी अवलोकनका व्यवस्था मिलाईएको उनले बताईन्।

उज्यालो भरतपुर कार्यक्रम अन्तर्गत स्मार्ट सडक बत्ती, हाई मास्ट एवं मिनिमास्ट बत्ती गरी ८० किमि सडकमा जडान भैसकेको छ भने नेपाल विद्युत प्राधिकरणसँगको साझेदारीमा दोस्रो प्याकेजको सम्झौता भई कार्य प्रारम्भ हुने चरणमा रहेको उल्लेख गरिन् । “हरित उर्जाको खपत, पेट्रोलियम पदार्थको बचत” गर्ने नीति अनुरुप नेपाल विद्युत प्राधिकरणसँगको समन्वयमा थप चार्जिङ स्टेशनका लागि जग्गा व्यवस्थापन गरिएको र महानगरले विद्युतीय सवारी साधन खरिद गर्ने नीति अवलम्बन गर्दै इ(स्कुटर खरिद गर्ने प्रक्रियालाई अगाडि बढाइएको छ।महानगरभित्र विद्युतीय बस सहित गुणस्तरीय र सुरक्षित यातायात सेवाको लागि प्रारम्भिक अध्ययन भइरहेको प्रमुख दाहालले बताईन।

जिइएसको प्रयोग गरी भू(उपयोग वर्गीकरण गर्ने कार्यका लागि परामर्शदाता छनौट गरिएको र संघीय सरकारको समन्वयमा भरतपुरका मुख्य सहरी क्षेत्रमा प्रशोधन सहितको ढल निकासको लागी सर्भे तथा डिपिआर भइरहेको जानकारी दिइन्।

देश भित्रैको स्रोतसाधनलाई प्रयोग गरी पूर्वाधार निर्माण गर्ने नीति अनुरुप ६ मिटर भन्दा कम आर ओ डब्लु भएका सडक, भिरालो र घुम्ती चोकहरूमा ढलान गर्ने कार्य भईरहेको बताईन्। केरुङ्गा घोल, पुङ्गी खोलामा संरक्षण तथा सौन्दर्यीकरणका लागि निर्माण कार्य थालनी भएको र नारायणी किनारमा सी बिच मोडेल सहितको मनोरञ्‍जन पार्क, आरती स्थल लगायत सौन्दर्यकरण सहित निर्माणका लागि ठेक्का आह्वान भई निर्माणको चरणमा रहेको प्रमुख दाहालले बताईन् ।

सडक सौन्दर्यीकरण तथा सुरक्षाका लागि रोड मार्किङ र जेब्रा क्रसिङ राख्‍ने कार्य भईरहेको र खाल्डाखुल्डी मुक्त महानगर अभियान अन्तर्गत सडक मर्मतका कार्यहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गरिएको उल्लेख गरिन् । नारायणी किनारको पर्यटकीय क्षेत्रका लागि स्मार्ट सार्वजनिक शौचालयको डिजाइन तयार भई निर्माणको लागि बोलपत्रको तयारी गरिएको उनको भनाई छ।

415291752_248077098307916_1931239271697333135_n-1024x680-1704620584.jpg

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  २२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update