काठमाडौं-अमेरिकाको टेक्सासस्थित ह्युष्टनमा नेपाली विद्यार्थी मुना पाण्डे गोली लागेको अवस्थामा मृत भेटिएकी छिन् । उनी सोमबार साँझ छातीमा गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।
सोमबार बेलुका ५ बजेर ३५ मिनेटमा प्रहरी घटनास्थलमा पुग्दा उनलाई मृत अवस्थामा भेटाएको ह्युष्टन प्रहरीलाई उद्धृत गर्दै अमेरिकाबाट प्रकाशन हुने नेपाली अनलाइन खसोखासले जनाएको छ ।
घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली वेष्ट एयरपोर्ट ब्लुभार्डमा रहेको घटनास्थलमा पुगेको र त्यहाँ पुग्दा २१ बर्षकी महिला मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । अहिलेसम्म घटनामा कोही पनि संदिग्ध फेला नपरेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि पठाइएको र अहिलेसम्म घटनासँग सम्बन्धित कसैलाई पक्राउ नगरिएको प्रहरीको भनाइ छ ।
नेपालको भोजपुरकी पाण्डे ह्युस्टन कम्यूनिटी कलेजमा अध्ययनरत थिइन् । उनी ३ बर्ष अगाडि सन् २०२१ मा अध्ययनका लागि अमेरिका आएको र उनकी काठमाडौंमा रहेकी आमा अनिता पाण्डे अधिकारीलाई घटनाबारे जानकारी दिइसकिएको नेपाली एसोसिएसन अफ ह्युस्टनका प्रथम उपाध्यक्ष द्रोण गौतमले जनाएका छन् ।
घटनास्थलमा कुनै हतियार पनि नभेटिएको प्रहरीले जनाएको छ । घटनाको उद्देश्य के थियो भन्नेबारे पनि केही जानकारी प्राप्त नभएको प्रहरीको भनाई छ ।