Mero Chitwan
भारतमा मृत्यु भएका माडीका तीन युवाको शव ल्याइँदै

भरतपुर-भारत उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा परी मृत्यु भएका चितवन माडीका तीन जनाको शव ल्याइँदै छ । शव आज रातिसम्म घर ल्याइपुर्‍याइने माडी नगरपालिकाकी प्रमुख ताराकुमारीकाजी महतोले जानकारी दिइन् । 

नगरप्रमुख महतोका अनुसार शवको शुक्रबार बेलुका परीक्षण सकिएपछि आज दिउँसो गड्डाचौकीनाका हुँदै नेपाल ल्याइएको छ । शव बोकेको एम्बुलेन्स बाटोमा रहेकाले आज रातिसम्म शव माडी आइपुग्ने उनले जानकारी दिइन् । 

 बद्रीनाथबाट केदारनाथ जाने सडकमा पर्ने फाटा क्षेत्रमा बिहीबार मध्यराति खसेको पहिरोमा परी चितवन माडीका तीन जना र दैलेखका एकजना मजदुरको मृत्यु भएको थियो । उनीहरू सुतेको अवस्थामा पहिरो गएको थियो ।

 नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार माडी नगरपालिका–२ शीतलपुरका ५८ वर्षीय तुलबहादुर दमाई, वडा नं १ भङ्गताका २६ वर्षीय कृष्णबहादुर परियार र वडा नं ५ छरछरेका २८ वर्षीय पूर्णबहादुर नेपाली तथा दैलेखका दीपक बुढाको पहिरोले पुरेर घटनास्थलमा मृत्यु भएको हो ।

 पहिरोमा परी नगरवासीको मृत्यु भएको थाहा पाएपछि मृतकका परिवारलाई भेट्न गएको नगरप्रमुख महतो बताइन् ।  मृतक तीन जनाको परिवारको आर्थिक स्थिति कमजोर रहेको भन्दै उनले मृतकका परिवारलाई राहत उपलब्ध गराउने विषयमा कार्यपालिका बैठकले आवश्यक निर्णय गर्ने जानकारी दिइन्। परिवारजन उतै रहेकाले दैलेखका दीपकको शव रुद्रप्रयागमै दाहसंस्कार गरिने जनाइएको छ । 

 

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  २२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update