Mero Chitwan
आँबुखैरेनीनजिक मर्स्याङदीमा बस खस्यो, १४ जनाको मृत्यु, १६ घाइते

तनहुँ : तनहुँको आँबुखैरेनी नजिक मर्स्याङ्दी नदीमा भारतीय नम्बर प्लेटको बस दुर्घटनामा परेका १४ जनाको शव निकालिएको छ । सुरक्षाकर्मीले दुर्घटनास्थलमा पुगेर उद्धार कार्य जारी राखेको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जनाउनु भयो । दुर्घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरेर स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको छ ।

दुर्घटनामा परेका अन्य यात्रुको खोजीकार्य जारी रहेको गौतमले जानकारी दिनु भयो । शुक्रबार बिहान साढे ११ बजे बस मर्स्याङ्दी नदीमा खसेको थियो ।

दुर्घटनामा सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा गएको ४५ जनाको उद्धारकर्मीले उद्धार जारी राखेको छ । दुर्घटनास्थलमा नेपाली सेना र नेपाल प्रहरीको टोली पनि खटिएको छ ।

अप्ठ्यारो भीरबाट बस नदीमा खसेकाले उद्धारका लागि डोरीको सहायताले नदी किनारमा सुरक्षाकर्मीहरु पुगेका थिए ।

7a715b7f-a50f-4cc7-a0da-ae5eb3839db5-1724399046.jpeg
 

 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update