Mero Chitwan
भरतपुरबाट १९  हजारभन्दा बढीले लिए सवारी चालक अनुमतिपत्र

चितवन-यातायात व्यवस्था कार्यालय भरतपुरबाट १९ हजार ७४ जनाले सवारी चालक अनुमतिपत्र लिएका छन् । कार्यालयले २०८० वैशाख ४ गते देखि सवारी चालक अनुमतिपत्र दिन सुरु गरेको थियो । उनीहरुले नयाँ र वर्ग थप गरेर सवारी चालक अनुमतिपत्र लिएका हुन् ।  

कार्यालयका प्रशासकीय अधिकृत सुरेशकुमार चपाईंका अनुसार कार्यालयले सवारी चालक अनुमतिपत्र प्रदान तथा नवीकरण गर्दै आएको छ । सो अवधिमा १४ हजार ९०५ जनाले सवारी चालक अनुमतिपत्र नवीकरण गरेको उनले बताए । कार्यालयबाट मोटरसाइकल, स्कुटर, कार, जीप, ट्याम्पो, ई रिक्सा, ट्याक्टर, मिनिबस, बस-ट्रक, एक्साभेटर र व्याकुलोडर लगायतका सवारी चालक अनुमतिपत्र दिइने गरिएको छ । 

उनले भने, 'यहाँबाट अत्याधिक मात्रामा मोटरसाइकल, स्कुटर र कार, जीपको सवारीचालक अनुमतिपत्र लिने गरेका छन् ।' चितवनमा अध्ययन वा रोजगारीको सिलसिलामा आएका जो कोहीले पनि सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिने गरेको उनको भनाइ छ । 

अधिकृत चपाईका अनुसार सवारी साधनको प्रमाण पुर्जाको प्रतिलिपि ७१ जनाले लिएका छन् । गत आर्थिक वर्षमा सवारी दर्ता १३ हजार ९०९ वटा भएको छ । सवारी दर्ता प्रक्रिया सुरु भएसँगै यस कार्यालयबाट हालसम्म २९ हजार ११ जनाले सवारी साधन दर्ता गराएका छन् । कार्यालयले गत आर्थिक वर्षमा रु ८८ करोड २० लाख राजस्व सङ्कलन गरेको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update