चितवन- उपचारका लागि भरतपुर अस्पताल गएकी एक महिलाको मृत्यु भएको सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको छ।
पाठेघरमा पलाएको मासुको डल्लो निकाल्न भरतपुर अस्पताल पुगेकी गैँडाकोट ५ घर भएकी सम्झना काफ्लेको ज्यान गएको थियो। चितवनका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको बैठकले छानबिन समिति गठन गरेको हो।
भरतपुर अस्पतालका सिनियर डाक्टर प्रकाश खतिवडाको संयोजकत्वमा नौ सदस्यीय सर्वपक्षीय छानबिन समिति गठन गरिएको हो।
समितिका सदस्यहरुमा क्यान्सर अस्पतालका एनेस्थेसिया डाक्टर प्रदिप थापा, प्रहरी निरीक्षक विवेक घिमिरे, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अन्तिम सिंजाली रहेका छन्। त्यसैगरि मृतकका आफन्तका तर्फबाट रमेश काफ्ले, राजेन्द्र ढकाल र मन्दिरा काफ्ले रहेका छन्। भरतपुर अस्पतालका शाखा अधिकृत तुलसीराम आचार्यलाई सदस्य सचिव तोकिएको छ।
अस्पताल प्रशासनले पनि आन्तरिक रूपमा छानबिन समिति गठन गरेको छ । छानबिन समितिको प्रतिवेदनपछि आवश्यक कारबाही अगाडि बढाउने र मृतकको शव आफन्तले अन्तिम संस्कारका लागि लैजाने निर्णयसमेत भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मृतकका परिवारले चिकित्सकको लापर्वाहीले घटना भएको भन्दै शव बुझ्न मानेका थिएनन् ।