चितवन : भरतपुर अस्पतालमा पाठेघरको मासुको टुक्रा (बायोप्सी) निकाल्न खोज्दा एक महिलाको मृत्यु भएको छ ।
अस्पतालमा मंगलबार बायोप्सी निकाल्ने क्रममा स्पाइनल एनेस्थेसिया (कम्मरभन्दा तलको भाग लठ्याउने) दिइएकी महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा गैंडाकोट नगरपालिका वडा नं. ५ की ३९ वर्षीया सम्झना काफ्ले ढकाल रहेकी छिन् । पाठेघरमा सिष्ट भएको भन्दै उनको अप्रेशन गरेर बायोप्सी निकाल्न लागिएको थियो ।
भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले भने मृतक महिलाको मुटुमा पहिल्यैदेखि समस्या रहेको बताए । उनले बिरामीको अवस्था गम्भीर भएपछि बचाउन आईसीयूमा राखिएको तर बचाउन नसकिएको बताए ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले एनेस्थेसिया दिने बित्तिकै बिरामी अचानक गम्भीर अवस्थामा पुगेको बताए । उनले घटनाका बारेमा थप बुझ्ने काम भैरहेको बताए ।
मृतकका आफन्तहरूले अस्पतालले उपचारमा गम्भीर लापरबाही गरेको बताएका छन् । मृतक महिलाको एक छोरी र एक छोरा छन् ।