Mero Chitwan
गत वर्ष चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै धेरै पर्यटक

चितवन-चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा हालसम्मकै धेरै पर्यटक भित्रिएका छन् । 

निकुञ्जको तथ्यांकअनुसार गत आव २०८०/२०८१ मा तीन लाख ६ हजार आठ सय ३७ जना पर्यटक निकुञ्ज प्रवेश गरेका छन्। निकुञ्जमा घुम्न आएका पर्यटकको यो संख्या हालसम्मकै धेरै रहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।

 निकुञ्ज भ्रमण गर्नेमा विदेशी पर्यटकको संख्या पनि उच्च छ। सो वर्ष एक लाख ३० हजार पाँच सय ५१ विदेशी पर्यटकले भ्रमण गरेका थिए । जसमध्ये सार्क राष्ट्रका ३६ हजार चार ७१ र अन्य मुलुकका ९४ हजार ५० जना छन्।

निकुञ्जले गत आवमा ३६ करोड ७२ लाख ९२ हजार ८ सय ७ रूपैयाँ राजस्व आम्दानी गरेको छ । अघिल्लो आवमा निकुञ्ज प्रवेश गर्ने पर्यटक संख्या दुई लाख ९९ हजार चार सय १२ थियो। आव २०७९/०८० मा ९२ हजार आठ सय विदेशीले मात्र निकुञ्ज घुमेका थिए।

गत आवमा एक लाख ३० हजार बढीले घुमेका छन् तर आन्तरिक पर्यटकको संख्या भने निकुञ्जमा घटेको छ। अघिल्लो आवमा दुई लाख पाँच हजार पर्यटकले निकुञ्ज घुम्दा गएको वर्ष एक लाख ७६ हजार तीन सय १६ जनाले भ्रमण गरेका थिए। अघिल्लो आवमा २९ करोड ८९ लाख ६५ हजार चार सय ९५ रूपैयाँ राजस्व उठेको थियो।

गएको वर्ष नेपाली सबैभन्दा धेरै कात्तिकमा ३१ हजार दुई सय ३७ जनाले निकुञ्जको भ्रमण गरेका थिए। पछिल्लो १० वर्षमा सबैभन्दा कम आव २०७२/०७३ मा ८७ हजार तीन सय ९१ र कोरोना भाइरसको महामारी फैलिएको आव २०७७/०७८ मा ९८ हजार दुई सय २८ पर्यटकले निकुञ्ज घुमेको देखिन्छ। 

सरकारले २०३० सम्म भ्रमण दशक मनाइरहेको छ। यो अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने सरकारी लक्ष्य रहेकामा चितवन निकुञ्जमा वार्षिक चार लाख पर्यटक ल्याउने लक्ष्य यहाँका व्यवसायीले राखेका छन् । यसका लागि यहाँका व्यवसायीले ‘घुमौं सौराहा’, ‘भरतपुर भ्रमण वर्ष’ लगायतका कार्यक्रम राखेका छन्। छिमेकी चीन र भारतमा पुगेर प्रचार–प्रसार गरेको व्यवसायीले बताएका छन्। चितवनमा १५ हजार पर्यटक राख्ने होटल छन्।

 

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  २२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update