Mero Chitwan
उद्योग वाणिज्य संघ चितवनको साधारण सभा सुरु,  अर्थतन्त्र उकास्नका लागि कदम चाल्न  व्यवसायीको माग

चितवन-उद्योग वाणिज्य संघ चितवनको ५७ औँ वार्षिक साधारण सभा शनिबारदेखि सुरु भएको छ। साधारण सभाको उद्घाटनका अवसरमा उद्योगी तथा व्यवसायीहरुले देशको अर्थतन्त्र माथि उठाउनका लागि ठोस कदम चाल्न सरकारसँग माग गरेका छन् । 

संघका अध्यक्ष चुननारायण श्रेष्ठले देशको अर्थतन्त्र खस्किनुमा ठूला मुलुक र छिमेकी मुलुकको प्रभावसँगै सरकारको पनि कमजोरी रहेको आरोप लगाए । ‘हामीले चालू आर्थिक वर्षको बजेट र मौद्रिक नीतिसम्बन्धी उद्योग वाणिज्य महासंघमार्फत सरकारलाई सुझाव पेश गर्दा पनि त्यसको सुनुवाइ भएन,’ उनले भने । अर्थतन्त्रलाई चलायमान बनाउने उद्योगी व्यवसायीकै गुनासो नसुन्ने भएपछि राज्यले अर्थतन्त्र सुधारमा खासै चासो दिएको नपाइएको अध्यक्ष श्रेष्ठको भनाइ छ । 

‘यस्तो अवस्थामा राज्यले पुँजिगत खर्चमा वृद्धि गर्दै लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ,’ उनले भने, ‘होइन भने आर्थिक जटिलथा झन् थपिँदै जाने निश्चित छ ।’ कृषि र पर्यटनजस्ता सम्भावना बोकेको क्षेत्रको पहिचान गराउन नसक्दा मुलुकभित्रै रोजगारको अवस्था सिर्जना गर्न नसकेको उनले बताए।  राज्यले ध्यान दिएर चितवनलाई कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनको केन्द्रसँगै आर्थिक गतिवधि र औद्योगिक विकासको हबको रूपमा विकास गर्न आवश्यक रहेको उनको भनाइ छ ।

अध्यक्ष श्रेष्ठले शक्तिखोर औद्योगिक क्षेत्र घोषणामा मात्रै सीमित भएको भन्दै त्यसलाई जतिसक्दो चाँडो प्रकृया अगाडि बढाउन पनि आग्रह गरे । ठोरी–केरुङ सडक निर्माण सुरु गरी चितवनको विकासलाई चीन र भारतजस्ता छिमेकी मुलुकसँगको व्यावसायिक सम्बन्ध कायम गराउन पनि राज्यको ध्यानाकर्षण गराए । भरतपुरमै अलपत्र अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगाशाला निर्माणलाई तदारुकताका साथ समयमै सम्पन्न गराए त्यस्ता क्षेत्रले देशको आर्थिक विकासमा टेवा पुग्ने उनले बताए ।

चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले सरकारले तदारुकता नदेखाउँदा उद्यमशीलता तल खस्किँदै गएको उल्लेख गर्दै सोही कारण उद्योगी व्यवसायीको मनोबल नै कमजोर भइसकेको गुनासो गरे । सरकारले समयको गाम्भीर्यता नबुझ्दा समग्रमा उद्योगहरु ४० प्रतिशतको हाराहारीमा मात्रै चलिरहेको उनले दाबी गरे । 

व्यापारले लय समान्त नसक्नु र निरन्तर घाटाका कारण साझेदारी व्यवसायीबीच मनमुटावको अवस्था सिर्जना भएको उनको भनाइ छ । उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले बिग्रेको अर्थतन्त्रलाई माथि उकास्नको लागि सरकारले ठोस कदम चाल्नु आवश्यक रहेको बताए ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले  उद्योगी व्यवसायीले संयमता नअपनाउँदा व्यापार घाटाले निरन्तरता पाएको बताए ।देशमा अवसर छैन भनेर सधैँ नकारात्मक सूचना प्रवाह गराउँदा त्यसको घाटा आफैँलाई पर्ने बताउँदै उनले भने, ‘अवसर छैन भनेर हामीले नै भन्दै गर्दा साना व्यवसायीमा कत्तिको असर पर्छ भन्ने कुरा बुझ्नुपर्छ ।’

अर्थमन्त्रीको दाबी : अर्थतन्त्रमा सुधार हुँदै गएको छ 

उद्घाटनका अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा सुधार हुँदै गएकाले उद्योग–व्यवसायमा लागेकाहरुले नकारात्मक सोचबाट मुक्त भएर अघि बढ्नुपर्ने बताए। अर्थतन्त्रमा सुधार देखिन थालेपछि विदेशी लगानीकर्ता आउन थालेको दाबी गर्दै उनले व्यवसाय गर्नेहरू सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने बताए ।

अर्थतन्त्रका समस्या पूर्णरूपमा समाधान नभए पनि विगतको तुलनामा अहिले केही सुधार हुँदै गएको उनको भनाइ थियो । 

बैंकहरुको लगानी शेयर बजार र जग्गामा धेरै हुँदा अहिले समस्या देखिएको भए पनि यसलाई खुकुलो गरिएको बताउँदै उनले भने “सबै लगानी अनुत्पादक क्षेत्रमा भएपछि राष्ट्र बैंकले कठोर मौद्रिक नीति बनायो जसका कारण समस्या आयो । अहिले यसलाई बिस्तारै खुकुलो बनाउँदै लगिएको छ ।” अर्थमन्त्रीले निर्माण व्यवसायीलाई सरकारले माघअघि नै भुक्तानी दिने र माघपछि सबैको दायित्व पूरा गर्ने प्रतिबद्धता पनि जनाए ।

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  २३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update