Mero Chitwan
एएफसी च्यालेन्ज लिगः भुटानको पारो एफसी विजयी

काठमाडौँ-एएफसी च्यालेन्ज लिगअन्तर्गत प्रारम्भिक चरणको खेलमा नेपालको चर्च ब्वाइज युनाइटेड क्लब भुटानको पारो एफसीसँग पराजित भएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा पारो एफसीले चर्च ब्वाइजलाई २–१ गोलअन्तरले पराजित गर्‍यो । पारो एफसीको जितमा किङ्गा वाङ्चुक र विलियम ओपोकुले एक-एक गोल गरे ।

 खेलमा ३८औँ मिनेटमा लाकेन लिम्बुले गोल गरेपछि चर्च ब्वाइजले अग्रता लिएको थियो । मोसेस गाबाले पेनाल्टी बक्समा हेडमार्फत दिएको पासमा लाकेनले गोल गरेका थिए । 

तर चर्च ब्वाइजको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ४०औँ मिनेटमा पारोका लागि किङ्गा वाङ्चुकले गोल गर्दै खेल बराबरीमा ल्याए । चर्च ब्वाइजका गोलकिपर दीप कार्की अघि बढेको अवस्थामा किङ्गाले गोल गर्न सफल भए । खेलको ६६औँ मिनेटमा पारो एफसीका लागि विलियम ओपोकुले निर्णायक गोल गर्दै २–१ को अग्रता दिलाएका थिए ।

 जितसँगै पारो एफसी प्रतियोगिताको समूह चरणमा प्रवेश गरेको छ भने चर्च ब्वाइज प्रतियोगिताबाट बाहिरिएको छ । भुटानी क्लबले सिनियरस्तरको प्रतियोगितामा नेपाली क्लबलाई हराएको यो पहिलो पटक हो ।

भुटानी लिग च्याम्पियन पारो एफसीले पहिलो रोजाइमा नौ विदेशी खेलाडीलाई मैदानमा उतारेको थियो भने सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइजले तीन जना विदेशी खेलाडी मैदानमा उतारेको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  २२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update