Mero Chitwan
धरानमा मेयर र आन्दोलनरत दलहरुबीच ३ बुँदे सहमति, खानेपानी महसुल वृद्धिको निर्णय स्थगित

चितवन-धरानमा विभिन्न १० राजनीतिक दलको आन्दोलनपछि खानेपानीको महसुल वृद्धि तत्कालका लागि स्थगन गरिएको छ । 

आन्दोलनरत विभिन्न १० राजनीतिक दल र धरान उपमहानगरपालिका नगरप्रमुख हर्क साम्पाङबीच महसुल वृद्धि स्थगनलगायतका ३ बुँदे सहमति भएको हो ।  तीन सातादेखि चरणबद्ध आन्दोलनमा रहेका दल र नगरप्रमुख साम्पाङबीच आइतबार ६ घण्टा लामो वार्तापछि सहमति भएको हो । सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित भएको छ । 

दुवै पक्षबीच खानेपानी बोर्डको पूर्णताबारे उच्च अदालतको फैसला मान्ने र सात दिनभित्र बोर्डको हिसाब सार्वजनिक गर्ने सहमति भएको छ । 

दिउँसो साढे २ बजेदेखि सुरु वार्ता रातिसम्म पनि सहमति नहुने संकेत देखिएपछि उपमहानगर कार्यालय बाहिर धर्नामा बसेका उपभोक्ता तथा राजनीतिक दलका कार्यकर्ताहरूले वार्ता टोलीलाई भित्रै थुन्ने तयारी गरेका थिए । त्यसपछि दबाबमा परेका वार्ताकर्ताहरु सहमति गर्न बाध्य भएका थिए।

साउन ११ गते धरानमा क्रियाशील राजनैतिक दलले खानेपानीको शुल्क र महसुल पुरानै कायम गर्न माग राख्दै धरान खानेपानी व्यवस्थापन बोर्डलाई ७२ घन्टे अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका थिए । अल्टिमेटम दिँदा पनि महसुल नघटाएपछि दलहरूले चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए । खानेपानीको महसुलमा ९ हजार ९ सय प्रतिशतसम्म वृद्धि गरिएपछि आन्दोलनर गरिएको हो । 

 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  २२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update