चितवन : चितवनको सिमलताल पहिरोसँगै त्रिशूलीमा बेपत्ता दुई बस र यात्रु बारे अध्ययन गर्न गठित कार्यदलले आज गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाउने भएको छ। आज दिउँसो साढे १ बजे गृहमन्त्री लेखकलाई कार्यदलले प्रतिवेदन बुझाउने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
गृहमन्त्री लेखकले सो दुर्घटनाबारे अध्ययन गर्न सहसचिव छवि रिजालको नेतृत्वका तीन सुरक्षा निकायबाट तीन जना, भौतिक मन्त्रालयबाट एक जना गरी ५ जनाको कार्यदल गठन गरेका थिए। गत असार २८ गते नारायण-मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नं र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४५९ नम्बरको बस पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको थियो।
दुई बसमा ६५ यात्रु सवार थिए। तीन जनाले आफै ज्यान जोगाएका थिए भने २४ जनाको शव फेला परेको थियो। अझै दुई बस र बसमा सवार ३८ यात्रुको अवस्था अज्ञात रहेको छ।