Mero Chitwan
हिंसात्मक प्रदर्शनपछि बंगलादेशकी प्रधानमन्त्रीले देश छाडिन्, अन्तरिम सरकार बनाउने सेनाको घोषणा

एजेन्सी :बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएपछि देश छोडेकी छिन् । हसिनाले सोमबार दिउँसो करिब साढे २ बजे सेनाको हेलिकप्टरमा आफ्नो ढाकास्थित सरकारी आवास गोनो भवन छाडेको स्थानीय समाचार माध्यमले जनाएका छन् । सहिनाका साथमा बहिनी शेख रेहनासमेत रहेको जनाइएकोछ । 

हसिना सम्भवतः भारतको पश्चिम बंगालतर्फ गएको हुन सक्ने समाचार माध्यमले जनाएका छन् । प्रधानमन्त्री हसिनाको राजीनामा माग गर्दै भइरहेको प्रदर्शन हिंसात्मक बन्दै गएपछि उनी राजीनामा दिन वाध्य भएकी हुन् । प्रदर्शनकारीले प्रधानमन्त्री निवासभित्र प्रवेश गरी तोडफोड गर्नुका साथै, कतिपय सामान उठाएर लगेका छन् ।

यसैबीच सेना प्रमुख वाकर जमनले देशबासीका नाममा सम्बोधन गर्दै अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् ।

 एएफपीले शेख हसिना र उनकी बहिनी शेख रेहना सुरक्षित स्थानमा पुगिसकेको जनाएकोछ । देश छाड्नुअघि हसिनाले देशवासीका नाममा सन्देश रेकर्ड गर्न चाहेको तर त्यसको वाअवसर प्राप्त नगरेको दाबी समेत स्थानीय समाचार माध्यमले जनाएका छन् ।

बंगलादेशमा सरकार विरोधी आन्दोलनका क्रममा हिजो कम्तिमा ९० जना मारिएका थिए । जटरबारी र ढाका मेडिकल कलेज क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा आज कम्तिमा ६ जना मारिएको समाचार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update