भरतपुर-भरतपुर अस्पतालमा गत असार अन्तिम साता जडान गरिएको एमआरआई मेसिन बिग्रिएको छ । साउन १६ गते परेको चट्याङका कारण एमआरआई मेसिनको एमप्लिफायर बिग्रिएपछि अहिले सेवा नै अवरुद्ध भएको छ ।
जर्मनीमा बनेको सिमेन्स कम्पनीको ‘थ्री टेस्ला ६४ च्यानल’को सो मेसिन गत जेठ २३ गते अस्पतालमा ल्याइएको थियो । अस्पतालमा राम्रोसंग अर्थिङ्ग भए पनि मेसिनमा चट्याङ्गले क्षति गरेको अस्पतालका रेडियोलोजी विभागका प्रमुख डा. केशव पौडेलले बताए ।
अस्पतालले असार २७ गतेदेखि एमआरआई सेवा सुरु गरेको थियो । एमआरआई सेवा बन्द हुँदा बिरामीलाई समस्या पर्न थालेको छ । दैनिक १४-१५ जना बिरामीको एमआरआई हुँदै आएको थियो। बिग्रिएको सामान मगाएकाले मर्मत गरेर एक साताभित्रै सेवा सञ्चालनमा ल्याइने अस्पतालले जनाएको छ।
सङ्घीय सरकारले उपलब्ध गराएको रु २५ करोड र अस्पताल विकास समितिको रु पाँच करोड गरी रु ३० करोडमा मेसिन खरिद गरिएको हो ।