गत साउन १२ गते भएको एउटा साहित्यिक कार्यक्रममा समादरणीय स्रष्टा चिरञ्जीवी दाहालले मेरो हातमा एउटा पुस्तक थमाउनुभयो । घरमा आएपछि हेरें– अग्रावरणमा पुस्तकको नाम र विधाको सूचनापछि कन्यामको चियाबारीजस्तै स्थानमा एउटी सुन्दरी र अन्य केही साङ्केतिक चित्रले सुसज्जित गरिएको उपन्यासको शीर्षक र कभर निकै राम्रो पाएँ ।
२०७९ सालमा छापिएको कृति ग्रीष्मजामा कूल १३७ पृष्ठमा कथा पुरा गरिएको छ । सुरुमा प्रस्तावना पढेँ । उपन्यासकारले प्रस्तावनामार्फत् दिएको यो सन्देश ‘नारी भनेको मांसपिण्डको थुप्रो मात्र होइन । नारी त पवित्र गङ्गा हुन् ।’ भन्ने यो भनाइले नारीप्रतिको सम्मानलाई मुखरित गरेको रहेछ ।
लामोसमय सरकारी सेवामा रहेर हाल निवृत्त भएका साहित्यकार दाहालको तेश्रो साहित्यिक सन्तानको रूपमा जन्मिएको यो कृति नामैले नारीप्रधान हो जस्तो लागेको थियो । मेरो अनुमान गलत भएन ।
गोरखा जिल्लाको तान्द्राङ्गमा जन्मेर जागिरको सिलसिलामा पुगेका स्थानहरूलाई उपन्यासको कथानकमा सजाएर प्रस्तुत कृति तयार भएको छ । कृतिमा मूल पात्र ग्रीष्मजा नामकी एक नारी छन् जसलाई मियो बनाएर पारिवारिक सम्बन्धका मालदाम्लोमा बाँधिएर गोरखा, चितवन, हेटौंडा, काठमाडौं, पाल्पा हुँदै फेरि गोर्खामै आएर विषयवस्तुको फन्को टुङ्गिएको छ ।
एउटा गाउँकी सानो तथा सुखी अनि शिक्षित परिवारकी सुन्दरी तथा सुशीला चेली ग्रीष्मजा (अर्थात गर्मियाममा जन्मेकी) ले नेपाली समाजको किन्नरी जातक कथाकी रानी पात्राले झैं घरमै काम सघाउन राखिएको एउटा अनपढ केटोसँग आफ्नै जोडबलमा घर छोडेर हिँड्छे । उनीहरू रातको समयलाई उपयोग गर्दै उज्यालो हुँदा गाउँदेखि निकै टाढा पुग्छन् । गाडी चढेर हेटौंडा पुग्छन् । केटो तीर्थकुमारले त्यहीँ कुनै काम गर्छ । उनीहरुको सम्बन्ध अत्यन्त राम्रो छ तर उनीहरू सन्तान सुखबाट बन्चित हुन्छन् । विभिन्न अस्पतालहरूमा गरिएको परीक्षणले तीर्थकुमार सन्तान उत्पादनमा अनुत्पादक ठहरिन्छ । दाहालको उपन्यास ग्रीष्मजामा, उपन्यासकी मुख्य नारी पात्र ग्रीष्मजाले मातृवात्सल्य प्रेमका लागि गरेको सङ्घर्षको नालीबेली पढिरहँदा जो कसैको पनि मन कटक्क काटिएको पत्तै पाइँदैन । नारी पूर्ण हुनका लागि आमा बन्नु पर्ने र सहजरुपमा आमा हुन नसकेकी एकजना सुशिक्षित नारीको मनोदशा र आमा बन्न उनले गरेको प्रयासले उपन्यास अत्यन्त रोचक, मार्मिक र मर्मस्पर्शी छ ।
यसै सिलसिलामा ग्रीष्मजाले चुलोचौको गरिदिने गरेको एक कर्मचारी लालप्रसादलाई तीर्थकुमार र ग्रीष्मजाकै सल्लाह र योजना अनुरुप नजिकिदै ऊबाटै गर्भवती हुन्छे । कालक्रममा एउटा छोरो जन्मन्छ ( तीर्थलाल । पछि तीर्थकुमारलाई के हुन्छ कुन्नी त्यही छोराको नाम लिएर बेसरी घरमा झगडा गर्छ । तीर्थकुमार घर छोडेर हिँड्छ । संयोगले हेटौंडा अस्पतालको डाक्टर ग्रीष्मजाको आफ्नै दाजु सुवास शर्माले उनीहरूलाई धेरै सम्झाइबुझाइ तथा अन्य सहयोग गर्छ । पछि ग्रीष्मजा छोरो बोकेर गोरखाबाट काठमाडौंमा सरिसकेको माइत जान्छे । त्यहीँ जागिर खान्छे । लालप्रसादसँग पुनः भेट हुन्छ । ग्रीष्मजाले लालप्रसादको कलेजो फेर्नुपर्दा आफ्नो कलेजो दिएर बचाउँछे । उनीहरू नयाँ घर जमाएर बस्छन् । यहाँ ग्रीष्मजाको मेहनत र बहादुरी निकै अनुकरणीय देखिन्छ ।
माइतिमा हेलाँ भएपछि ऊ गोरखाकै माइती गाउँमा गएर बस्छे । ग्रीष्मजाले अनेकौं सङ्घर्ष गर्छे । नाम दाम र इज्जत कमाउँछे । अथक मेहनतका कारण शून्यबाट उठेर ग्रीष्मजाले गरेको प्रगति निकै उत्साहजनक ढङ्गबाट प्रस्तुत गरिएको छ । यतिमात्र होइन , उपन्यासमा उपन्यासकारले आफ्ना उत्कृष्ट विचारहरू समेत प्रस्तुत गरेका छन् । यसर्थ ग्रीष्मजा उपन्यासलाई निर्धक्कसँग, विचार प्रधान उपन्यासको श्रेणीमा राख्न सकिन्छ ।
केही वर्षपछि कलेजोको क्यान्सरको कारण लालप्रसादको निधन हुन्छ । कालान्तरमा छोरो तीर्थलाल पनि डाक्टर हुन्छ । अनेक झमेलाहरू आउँछन जान्छन् । अन्त्यमा डा। तीर्थलालको अनेक संयोगपूर्ण घटनाहरूका कारण घरमा छुटेका हराएका नचिनेका आफन्तहरू जस्तै सुनमाया, तीर्थकुमार , मनमाया आदि विभिन्न तरिकाले गोर्खाकै घरमा जम्मा हुन्छन् र आपसी चिनजान , आ आफ्नो भोगाइ सुनाउने र दशैं मनाउने गर्दै उपन्यास टुङ्गिन्छ ।
कथा निकै सुरुचिपूर्ण ढङ्गबाट बुनिएकोछ । पाठकको मन ध्यान तान्न कथा अत्यन्त सफल छ । पात्रहरू र स्थानहरू अनि पेशा हाम्रो समाज सुहाउँदो र अनुकूलका छन् । उपन्यास दस खण्डमा बाँडिएकोछ । कागज छपाई र मूल्य भनेजस्तै छन् । पल्लब साहित्य प्रतिष्ठानले प्रकाशन गरेको प्रस्तुत कृतिमा कृतिकारले पौराणिक पात्रहरू र धार्मिक प्रसङ्गको समेत उल्लेख गरेकोले उपन्यास निकै सुन्दर बनेको छ । यसका लागि उपन्यासकारको यो कार्य निकै प्रशंसनीय छ । अन्तिमतिरका परिच्छेदहरूलाई छोटो बनाइएको जस्तो लाग्छ । यसपछिको कथा तन्काइएको भए पुस्तकको आकार केही बढे पनि अझै सुन्दर हुन सक्थ्यो । तीर्थलाल गएपछि तीर्थकुमार र ग्रीष्मजाको सम्बन्ध समाजमा सामान्य देखाइएको छ । त्यस्तै नेपाली समाजको आम सँस्कार र मान्यता भन्दा अल्लिपर पुगेर तीर्थकुमार र ग्रीष्मजाको आपसी समझदारीमा निसन्तानको दाग मेट्न लालप्रसादसँग नियोग विधि अपनाउन लगाउनुले सन्तान प्राप्तिका लागि एउटा मायालु जोडीको उदाहरणीय प्रयासलाई सम्मान गर्नुपर्छ ।
कथा अनुकूलका पात्र, स्थान र परिवेशले उपन्यास निकै रोचक बनेको छ । उजाडिन लागेको घर सम्हालेर सुन्दर र मिश्रित परिवारसहित आदर्श घर निर्माण गर्नसक्ने मूल पात्र ग्रीष्मजाको सुझबुझलाई अत्यन्त कलात्मक तरिकाले प्रस्तुत गरिएकोले उपन्यास संग्रहणीय र पठनीय बनेको छ ।
संसार अपरम्पार छ, यहाँ अनेक घट्ना घटिरहेका हुन्छन् । केही सामान्य घट्ना हुन्छ । केही जटिल प्रकृतिका । यहाँको घट्ना पनि त्यति सामान्य प्रकृतिको छैन । यसले उपन्यासमा निकै कौतुहलता प्रदान गरेको छ । यसपछि के होला ? भन्ने जिज्ञासा पटक पटक उठिरहन्छ ।
उपन्यासको पश्चावरणमा कृतिकारको परिचय र साहित्यकार केशवराज आमोदीको सानो टिप्पणी छापिएको छ । भित्रको अन्तिम पृष्ठ पनि कृतिकारकै परिचयमा समर्पित देखिन्छ । यसरी हेर्दा लगातार दुइटा पानामा एउटै परिचय छाप्नु भन्दा बाहिरी पातोमा आमोदिको जस्तै कुनै अन्य प्रसिद्ध साहित्यकारको टिप्पणी नै छापेको भए अझ राम्रो हुन्थ्यो । खैर यी कुरा प्रकाशकले ख्याल गर्नु पर्ने विषय हुन् ।
समग्रमा कृति पल्लव साहित्य प्रतिष्ठानका सँस्थापक अध्यक्ष गोर्खे साइँलोको प्रकाशकीय, कृतिकारको प्रस्तावना र समादरणिय प्रसिद्ध साहित्यकार केशबराज आमोदिको आँकलन निकै सुन्दर छ । कृतिकारलाई अझै समुज्ज्वल साहित्यिक भविष्यको शुभकामना ।
२०८१ साउन १४
चितवन