चितवन : चितवनमा वर्षे धान खेतीको क्षेत्रफल बढेको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार गतवर्ष २२ हजार आठ सय ७० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएकोमा यस वर्ष हाल सम्म २४ हजार २४ सय ७ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो ।
गत वर्ष समयमा वर्षा नहुँदा किसानले मोटरको पानी प्रयोग गरेर खर्चिलो तरिकाले रोपाइँ गर्नुपर्दा ९५ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष धान रोपाइँको क्षेत्रफल बढेको कृषिज्ञान केन्द्रका सूचना अधिकारी सुरुची त्रिपाठीले बताइन् ।
यसपटक समयमै वर्षा हुँदा र समयमै नहरको पानी आएका कारणले धेरै क्षेत्रफलमा धान रोपाइँ भएको हो । हाल सम्म चितवनमा ९८ दशमलब ५ प्रतिशत रोपाइँ सकिएको छ। भरतपुर र इच्छाकामनाको केही भागमा रोपाइँ हुन बाँकी रहेको जनाइएको छ ।
जिल्लाका सबै स्थानमा धानखेती हुने भए पनि पूर्वी चितवन, पश्चिम चितवन र माडीलाई मुख्य क्षेत्रका रूपमा लिने गरिन्छ। प्राय चितवनमा सावा मन्सुली, वार, सावित्री, मोती, गोरखनाथ, जिरामसिनाजस्ता जातका धान लगाइने गरिन्छ।