पोखरा : पोखरामा सोमबार बिहान ९ बजे भएको स्कुल बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना हुँदा सोही स्कुलकी कर्मचारी ३३ वर्षीया आरती विकको गण्डकी मेडिकल कलेज पुर्याउने बित्तिकै पौने १० बजे मृत्यु भएको हो ।
आरतीका छोरा अन्दाजी पाँच वर्षीय प्रिन्सको पनि उपचारका क्रममा ११ : ४५ बजे गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । बसमा ३० जना सवार रहेकोमा बाँकी २८ जनाको पोखराका तीन अस्पतालमा उपचार हुँदैछ ।
पोखरा महानगरपालिका–२१ फुस्रेखोलाको घुम्तीमा रामदीबाट बिरौटा फर्कने क्रममा पोखरा–१७ विरौटामा रहेको एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना भएको हो । ग१क ६२१९ नम्बरको बस सडकबाट झन्डै ५० मिटर तल खसेको छ । बसमा चालक, सहचालक, अभिभावक र विद्यार्थी गरी ३० जना सवार थिए ।