नागरिकतामा मेरो नाम मागे बुढा भए पनि हामी कार्की क्षेत्री हौं । म २००० सालमा जुम्लाको सिंजा ३ माझ वुडुमा जन्मिएको थिएँ । अहिले यसलाई हाल कनकासुन्दरी गाउँपालिकामा नाम राखिएको छ । म बाको एक मात्र छोरो हुँ । उ बेला पनि सिंजामा हाम्रो पचास–साठी रोपनी जग्गा जमीन थियो । खेतीपाती प्रसस्त हुन्थ्यो । गाउँमा बाको नाम र इज्जत राम्रै थियो । हामी गाउँको हुनेखाने परिवारमा गनिन्थ्यौं ।
म तन्नेरी वयमा पुगेपछि बाले मलाई केही खच्चड किनेर मालसामान ढुवानी गर्ने कामको जिम्मा लगाइदिनु भयो । बाको आज्ञा सिरोपर गर्दै मैले रातोदिन खच्चड धपाउने पेशा सम्हाल्न थालेँ । युवा उमेरको जोशमा मैले निकै मिहिनेत गरेँ । सोचेजस्तै आम्दानी भयो । हाम्रो आर्थिक हैसियत थप उँचो हुँदै गयो ।
त्यसताका गाउँमा विद्यालय नभएकाले मैले पढ्ने मौका भने पाइन । बुढापाकाहरू २००७ सालमा देशमा प्रजातन्त्र आएको कुरा गर्थे । मैले भने स्पष्ट बुझ्दिनथें । गाउँका बुढापाकाहरूले भन्थे- हामीले पढ्न नपाए पनि अब हाम्रा छोरा नातिले भने पढ्न पाउनेछन् । गाउँमा स्कूल र कलेज खोलिने छन् । बुढाहरू मरेर गए हामी तन्नेरी भयौं । न गाउँमा स्कूल खुल्यो, न कलेज । हाम्रो स्कूल पढाउने र शिक्षक बन्ने सपनामा तुसारापात भयो । परिणामस्वरूप हामी शिक्षक होइन खच्चड गोठाला बन्यौं । तै पनि गाउँका अन्य मान्छेको तुलनामा यो हाम्रो अहोभाग्य थियो । सबैसँग खच्चड व्यवसायी बन्ने हैसियत थिएन । त्यसका लागि पनि निकै राम्रो आर्थिक अवस्था हुनु जरुरी थियो ।
खेतबारी प्रसस्त भएकोले खेतीपाती गर्दा हामीले निकै मेहनत गर्यौँ । अर्मपर्म गरेर मात्र खेती गर्न नसक्ने भएपछि हामीले निमेक लगाएर पनि खेताला लगाउने गर्यौं । उत्पादन राम्रो भएपछि पुरै अन्न घरपरिवारले मात्र उपभोग गरेर सकिदैनथ्यो । केही सीमित मात्रामा अन्न र सिमी हामीले जुम्ला सदरमुकाममा लगेर बिक्री गर्न थाल्यौं । अन्यथा एक दुई वर्ष पुरानो अन्नसमेत हामीकहाँ बचेको हुन्थ्यो ।
बाले मेरो विवाह धुमधामका साथ गरिदिने योजना मलाई बारम्बार सुनाइरहनु हुन्थ्यो । खच्चड व्यवसायको सिलसिलामा व्यस्त रहनु पर्ने भएकोले तत्काल मैले बाको चाहना पुरा गर्न सकिन । घर बाहिर भएकै बेला पचास वर्षीय दमका रोगी बाको अचानक निधन भएको खबरले म मर्माहत भएँ । पिताजीको काजकिरिया सकेको अर्को वर्ष अत्यन्त सामान्य तरिकाले मेरो विवाह भयो । लाग्यो-बाबु आमाको इच्छा पुरा गर्न नसक्नु मेरो जीवनको सबैभन्दा ठूलो भुल थियो । आखिर एकदिन बिहे गर्नै थियो । तर मैले किन बेवास्ता गरें ? आज मलाई यही प्रश्नले बारम्बार चिमोटी रहन्छ ।
हाम्रो गाउँ, माझ वुडुमा अधिकांश बुढा कार्की, रोकाय र बिष्ट थरका क्षेत्रीहरूको बसोबास रहेका कारण पुजाआजामा ब्राह्मण पुरेत बोलाउने जिम्मा मेरै काँधमा थियो । ब्राह्मण बोलाउन केही समयको पैदल यात्रा गरेर भट्टवाडा पुग्नु पर्थ्यो । मलाई भट्टवाडाका भट्ट ब्राम्हणले हाम्रो घरमा पुजाआजा गराइदिएको अझै पनि सम्झना ताजा छ । अचेल भने यो चलन बिस्तारै पातलो हुँदै गएको छ ।
घाँस काट्ने औजार, खेतबारी खन्ने कुटो कोदालो र हलोको फाली बनाउने प्रयोजनका लागि लाहारज गाउँसम्म पुग्नु पर्ने हुन्थ्यो । त्यहाँका लोहारले सो कार्य निकै उत्कृष्ट ढङ्गबाट गरिदिन्थे । कपडा सिलाउने काम भने खुमाल गाउँका सुचीकारहरूले गरिदिन्थे । त्यहाँ हाम्रो बालीघरे सुचीकार थिए।
विहे गरेको केही समयपछि ठूली छोरीको जन्म भयो । हामी निकै खुशी थियौं । लगातार चार छोरा पछि पुनः कान्छी छोरी जन्मिइ । खेतबारी प्रसस्त भएकाले जहान केटाकेटीलाई हुर्काउन बढाउन खासै कठिनाई भएन । जिन्दगी सामान्य हिसाबले चलेका कारण हामी निकै सन्तुष्ट थियौं ।
तर जीवनमा सबैकुरा सोचेको मात्र हुने रहेनछ । यसैबीच देशमा चर्किदै गएको माओवादी जनयुद्धका कारण हाम्रो परिवारमा कहिले पनि निको नहुने घाउ बनाइदियो । त्यस युद्धले सात मैनाको अबोध नातिनीलाई एक्लो पारेर मेरी ठूली छोरी र ज्वाईलाई सर्लक्क निलिदियो !
०००
निकै लामो आफ्नो जीवन कहानी सुनाइ सकेपछि ८० वर्षका मागे बुढाले अघिसम्म आँखामा लुकाइ राखेको आँसु गालासम्ममै बग्न थालेको थियो । ८० वर्षको उमेरमा पनि उनी निकै रसिलो पोसिलो देखिन्थे । जुम्ली चिसो पानी र पूर्ण अर्गानिक खुराकका कारण जीवनको उत्तरार्द्धमा पनि उनी रातोपिरो भएको कुरा सगौरव सुनाइ रहेका थिए । उनले ८० वर्ष पुगेको प्रमाणका रुपमा आफ्नो नागरिकताको प्रमाणपत्र पनि साथमा बोकेर हिँडेका रहेछन् ।
उनले निकै समयपछि आफ्नो मनभित्र अटेसमटेस गरेर बसेको एउटा पुरानो बोझ मेरो अगाडि पोखेर आफ्नो मन हलुका बनाए । मेरो पिताजीको उमेरका यी मागे बुढा त्यति धेरै सन्तान हुँदाहुँदै पनि जीवन घिस्याउनैका लागि व्यापारको सिलसिलामा जुम्लाको सिंजाबाट चितवनसम्म आएका रहेछन् ।
“बा निर्धक्क रुनुस् । रुन र खान लाज मान्नु हुँदैन । फेरि यसरी निर्धक्क रुन सके मन हलुका हुन्छ । " मैले यति भनिसक्दा नसक्नै उनी आफै सम्हालिसकेका थिए ।
“त्यत्रो सम्पत्तिको मालिक, उमेरले चारबिस हिउँद र वर्षा बिताइसक्नु भएको छ । यति टाढासम्म व्यापार गर्दै किन आउनु भएको ?" भन्ने मेरो प्रश्नमा मागे बुढाको उत्तर सुनेर मलाई पनि एकछिन सोच्न बाध्य बनायो ।
उनी भन्दै थिए “ मालबीरले एक घण्टा बाँच्ने लोभमा एउटा सिङ्गै कौवा खाएको रे ।" जुम्लातिर प्रचलित यो भनाइले जीवन के रहेछ यसै बुझ्न सकिन्छ। एक घण्टा बाँच्ने लोभमा मान्छेले सिङ्गै कौवा खानसक्छ भने म जीवन जिउनकै लागि चितवनसम्म आउनु के अनौठो भयो ? हो म जीवनमा जिउने उद्द्श्यले चितवनमा आएको हुँ । "
उनले आफू व्यापार गर्ने सिलसिलामा चितवन आउनुपर्ने कारण खोतल्दै गए । म मधुमालतीको कथा सुने जसरी एकदम ध्यान दिएर सुन्दै गएँ।
०००
“ देशमा शासन व्यवस्था फेरिए सँगै सामाजिक अवस्था पनि परिवर्तन भयो । गाउँमा स्कूल कलेज खुले । आफूले पढन् नपाए पनि मैले छोरा छोरीलाई जसरी पनि पढाउनुपर्छ भन्ने सोचेर सबैलाई पढाएँ । विद्या आर्जन गर्ने कुरा कसैले बल गरेरमात्र नहुने रहेछ । त्यो त भाग्यमा लेखेर ल्याउनुपर्छ । मैले यति विधि सुविधा दिएर पढ्न कर गर्दा पनि एउटा छोराले बाहेक अरुले बाह्र कक्षा पास गर्न सकेनन् । कुनै एसएलसी र कुनै नौ कक्षामा थन्किए। कान्छी छोरी आठकक्षा भन्दा माथि जान सकिन ।
तै पनि जीवन राम्रैसँग चलिरहेको थियो । बुढाबुढीले घर गृहस्थी सम्हालेका थियौं । जेठो छोरो आफ्ना जहान बच्चासहित सुर्खेत पलायन भयो । माहिलो छोरो गोठी जिउला बजारमा गएर उतै बस्न थाल्यो । कान्छो हुम्ला सदरमुकामतिर लाग्यो । एउटा साँहिलो छोरोले पुर्ख्यौली सम्पत्ति धानेर बसेको छ । सारा खेतबारी बाँझै छन् । उसले मात्र खेतीपातीको काम गर्न सक्दैन । गाउँमा खेताला पाइन छोडे । गाउँ नछोडे पनि उसले हामीलाई पाल्न सकेन । उसका आफ्नै बालबच्चा हेर्दामा उसलाई भ्याइ नभ्याई छ । बुढाबुढी हामी अलग्गै बस्न बाध्य भयौं । हाम्रो साथमा जेठी छोरीले नासोको रुपमा छोडेर गएकी उसकी टुहुरी छोरी थिइ । उसलाई पनि आफ्नै सन्तान सम्झिएर मामा सानीआमासरह पढाउन लेखाउन आफ्नो कर्तव्य सम्झियौं ।
हामी बुढाबुढीले बाको पालादेखि पाल्दै आएको भैँसी पाल्ने कामगरि दुध, घ्यु, मोही खान कहिले पनि छोडेका थिएनौं । गत भदौमा बुढी मरेपछि मेरो बाँकी सपना सबै चकनाचुर भए । “बाह्र छोरा तेह्र नाती बुढाको धोक्रो काँधमाथि " भने जस्तै आज यो धोक्रो बोकेर हिंड्नु परेको छ बाबु !
अब हामीलाई कस्ले पाल्छ ? किन पाल्छ ? उनकै सन्तान पाल्नु पर्यो । पढाउनु लेखाउनु पर्यो । उनलै छोरा छोरीको लालनपालनमा समय दिनु पर्यो । विहेदान गर्नु पर्यो । हामी जस्ता अनुत्पादक बुढालाई समय दिएर तिनलाई के फाइदा ? ल हो कि होइन भन्नुस् त !'
०००
म उनका पीडा सुनिरहेको थिएँ । यी बुढा आफू त रोए रोए , अब यिनले मलाई पनि रुवाउने भए । मैले कुरा अर्कैतिर मोड्ने प्रयास गर्दै भनेँ । “ बाले खाना खानु भयो ? " उनले तुरुन्तै उत्तर दिए “ मैले एक छाक खाने गरेको छु । नारायणगढमा एउटा कोठा लिएर बस्छु । कोठाको चार हजार तिर्नुपर्छ । बिहान बेलुका दुई साँझ खान त पैसाले पनि पुर्याउन सक्नु पर्यो नि ! ”
“ दिनभरी डुल्नुपर्छ , यसरी एक छाकको भरमा कसरी हुन्छ ? मान्छेले बाँच्नकै लागि खाने हो । यसरी भोकभोकै हिँड्नु भएन नि बा ! " मैले यसो भनिरहँदा उनको मुहारमा निकै पीडा र व्यथा छरपस्टसँग पोखिएका देखिन्थे ।
अस्ति एउटा घरमा थोरै खाना भए दिनुस् न भन्दा “ व्यापार गरेर दुनियाँ ठगेर हिँडेका छौ । मागेर खान लाज लाग्दैन ? पैसा तिरेर खानुपर्छ " भने ।
'घर परिवारमा यसै पनि बोझ बनिएको थियो । अब त व्यापार गर्न हिँड्दा समेत दुनियाँको बोझ बनियो । अब यो शरीर र सास बिसाइदिउँ जस्तो लाग्न थालेको छ । मनले हरेस खाइसक्यो, बाबु ! ”उनी भनिरहेका थिए ।
" तपाईको बिचारमा जीवन के रहेछ बा ? " उनले जीवनको परिभाषा दिँदै भने " बाँचुन्जेल किलोमा दाम्लो रहिरह्यो भने जीवन दुहुनो गाई रहेछ । सबैले स्याहार गर्छन्, माया ममता पनि दिन्छन् । होइन किलो भाग्यो, दाम्लो चुडियो र भगवानले चोट दियो भने जीवन थारो गाईजत्तिको पनि होइन रहेछ । ” मागे बुढाको जीवनको परिभाषा मैले राम्रोसँग बुझ्न सकिन । सायद जीवनको परिभाषा दिँदा पनि उनीभित्र असह्य पीडा बोलिरहेको थियो । उनी निकै गम्भीर बनेर झोक्राउन थाले ।
अचेल म पुसको न्यानो घाम तापेर बाहिर बसिरहँदा मेरो घरको बाटो हुँदै मागे बुढाजस्तै अनगिन्ती मान्छे हिँड्ने गरेको देखेको छु । अधिकांश मान्छे जीवन जिउने सिलसिलामा सहयोगको अपेक्षा लिएर हिँड्छन् । कोही व्यापार गर्न, कोही चन्दा माग्न । आखिर जीवन सबैलाई प्यारो लाग्छ । कोही भरतपुरको क्यान्सर अस्पतालमा उपचार गर्दा गर्दै बेखर्ची भएर आइपुग्छन् । कुनै मिर्गौला प्रत्यारोपण गर्ने खर्चको जोहो गर्न केहीथान कागजात बोकेका निरिह बन्दै आइपुग्छन् । यसरी सहयोगको अपेक्षामा कुनै रक्त क्यान्सर र मुटु रोगीहरू आइपुग्छन् । सहयोग नगरौं हाम्रो संस्कारले पनि मान्दैन । सहयोग गरौं आएजति याचकलाई सहयोग गरेर सम्भव हुँदैन ।
सबैलाई सानो सहयोग गर्ने हो भनेपनि नोटको ठूलै मुठो लिएर बस्नुपर्ने हुन्छ । सायद संसारको कुनैपनि मुलुकमा यसरी गम्भीर बिरामीलाई चन्दा माग्दै हिँड्नु पर्ने अवस्था आइपर्दैन । हाम्रो देशमा सरकार छ, सरकारले चलाएका अस्पताल छन् । यस्ता दिनदुखी र गरिब एवं वृद्धवृद्धालाई हेर्ने दायित्व सरकारले लिनु पर्दैन ? महिनाको २/३ हजार भत्ता दिएको भरमा यिनका सबै समस्या समाधान हुन्छन् ? कुरै गर्ने हो जाबो तीन करोड जनसंख्या भनेको एउटा मुलुकका लागि सामान्य कुरा हो । हाम्रो छिमेकी देशमा एउटै जिल्लामा तीन करोड जनसंख्या छन् ।
मागे बुढा केही सामान्य अवस्थामा आएपछि मेरी अर्धाङ्गिनीले खाना ल्याएर दिइन् । उनले एकैछिनमा खाना खाएर सके । एकछाक मात्र खाने गरेको उनले भोक नलागेर होइन भन्ने कुरा उनको खाना खाने तरिकाले बताइरहेको थियो । यिनले एकछाक मात्र खाना खानुको मूल कारण आफ्नो खल्तीका कारण हो भन्ने प्रष्ट बुझिन्थ्यो ।
यिनको झोलामा के होला ? मलाई लागिरहेको जिज्ञासा बुझेर हो वा के हो उनले झोलामा भएका सबै वस्तुहरू एक–एक गर्दै देखाए । झोलामा घोडाको नालबाट बनेका केही थान फलामे औँठी थिए । केही पोका जिम्बु, बिरेनुन, सिधेनुन, कान कोट्याउने कन्कर्नो, हिँग, शिलाजीत र केही यार्सागुम्बा थिए । लाग्थ्यो मागे बुढा यस्ता मालसामान बिक्री गरेर करोडपति बनौंला, काठमाडौँमा घर जग्गा जोडौंला, आगामी संसदीय निर्वाचनमा चुनाव खर्च जुटाउँला भनेर हिँडिरहेका थिएनन् । यी त दिवङ्गत श्रीमतीको सम्झना मनबाट मेटाउन र ढुक्कसँग एक पेट अन्न पेटमा पार्न सकिन्छ कि भन्ने आशामा वृद्ध शरीरलाई घिस्याइ रहेका थिए ।