Mero Chitwan
दुईवटा सर्किट ब्रेकसँगै ११३ अंकले बढ्यो नेप्से

काठमाडौं : मौद्रिक नीतिपछिको पहिलो कारोबार दिनमा आइतबार खुलेको सेयर बजार परिसूचक नेप्से दुईपटकको सर्किट ब्रेकसँगै ११३.४२ अंकले बढेको छ । ४.४१ प्रतिशतले बढेको नेप्से २,६८१.५६ विन्दुमा रोकिएको छ ।

त्यस्तै सेन्सेटिभ इन्डेक्स ५.८२ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ८.८६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १०.०५ अंकले बढेको छ । आइतबार कारोबारमा आएका ३१८ कम्पनीको चार करोड तीन लाख १४ हजार कित्ता सेयर १५ अर्ब ८१ करोड ५ लाख रुपैयाँमा किनबेच भए । अघिल्लो कारोबारभन्दा करिब दुई अर्ब रुपैयाँको कारोबार बढेको हो । गत बिहीबार १४ अर्ब १३ करोडको सेयर खरिदबिक्री भएको थियो ।

बजार खुलेको पहिलो मिनेटमै ४ प्रतिशतले नेप्से बढेपछि सेयर कारोबार २० मिनेटका लागि बन्द गरिएको थियो । त्यसपछि खुलेको १ मिनेट नबित्दै बजार ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेकसँगै ४० मिनेटका लागि बन्द गरिएको थियो । आज कुल १४८ कम्पनीको सेयर मूल्य बढ्यो । ८७ कम्पनीको सेयर मूल्य घट्यो भने आठ कम्पनीको स्थिर रह्यो ।

आइतबारको नेप्से कारोबारमा बैंकिङ उपसमूहको परिसूचक उच्च दरमा बढेको छ भने अन्य उपसमूहको सामान्य अंकले बढेको छ । बैंकिङ उपसमूहको परिसूचक ९.८९ प्रतिशत बढेको छ । आइतबार १९ वाणिज्य बैंकहरुमध्ये १८ बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

आइतबार लघुवित्त उपसमूहको परिसूचक मात्र नकारात्मक भएको छ । सो उपसमूहको परिसूचक ०.१८ प्रतिशत घटेको छ ।

सबैभन्दा बढी जीवन बिमा उपसमूह ५१९.२७ अंकले बढ्यो । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल एसबीआई बैंक, सानिमा बैंक, एनएमबी, प्रभु बैंकसहित १२ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । कारोबार रकमका आधारमा कुमारी बैंक, एनआईसी एसिया बैंक तथा हिमालय रिइन्स्योरेन्स अघि रहे ।

यता गणपति लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.३५ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा कुमारी बैंकको ३६ करोड १० लाख रुपैयाँको कारोबार भयो । त्यस्तै, एनआईसी एसिया बैंकको ३४ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

गत शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले वाणिज्य बैंकहरुको खराब कर्जा घटाउने उद्देश्यले असल कर्जामा १.१ प्रतिशत मात्रै प्रोभिजन गरे पुग्ने व्यवस्था गरेसँगै आइतबारको कारोबारमा लगानीकर्ताको उत्साह देखिएको हो ।

त्यस्तै, रेगुलेटरी रिटेल पोर्टफोलियोको सीमा साढे दुई करोड बढाउने, संस्थागत लगानीकर्तामा लाग्दै आएको २० करोडको सीमा खारेज भएकाले लगानीकर्ताहरु वाणिज्य बैंकहरुमा आकर्षित भए ।

 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update