Mero Chitwan
एमालेले राष्ट्रियसभा निर्वाचनमा १९ स्थानमा उम्मेदवारी दिने

काठमाडौं- नेकपा (एमाले) ले राष्ट्रियसभामा रिक्त रहेका सबै सिटमा उम्मेदवार दिने भएको छ ।  लतिलपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनमा १९ वटै सिटमा मनोनयन दर्ता गर्ने निर्णय गरेको पार्टी महासचिव शङ्कर पोखरेलले जानकारी दिए । 

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले बैठकमा सातवटै प्रदेश कमिटीबाट आएका सिफारिसलाई ‘कलस्टर’ अनुसार प्रारम्भिक छलफल गरिएको बताए । एमालेले एक महिलासहित प्रत्येक प्रदेशबाट तीन जनाको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको थियो । 

“सिफारिस भई आएका उम्मेदवारका नाम कलस्टर अन्तर्गत पर्ने/नपर्ने र प्रमाणित हुने/नहुने भन्ने विषय स्पष्ट भएर उम्मेदवारी दर्ताको तयारी गरेका छौँ”, महासचिव पोखरेलले भने। 

छ जनालाई केन्द्रीय सदस्यमा मनोनित

यसैगरी बैठकले छ जनालाई पार्टी केन्द्रीय सदस्यमा मनोनित गरेको छ । प्रदेश अधिवेशनपछि निवर्तमान प्रदेश अध्यक्षलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको महासचिव पोखरेलले जानकारी दिए। 

महासचिवका अनुसार कोशी प्रदेशका तुलसीप्रसाद न्यौपाने, मधेस प्रदेशको रामअवतार यादव, बागमती प्रदेशबाट केशवराज पाण्डे, कर्णाली प्रदेशको विनोद शाह र सुदूरपश्चि प्रदेशको दामोदर भण्डारीलाई केन्द्रीय कमिटीमा मनोनित गर्ने निर्णय गरेको छ । 

यसैगरी बैठकले लामो समयदेखि पार्टी काममा रहेका झापा जिल्लाका अध्यक्ष दीपक कार्कीलाई पनि केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ ।  महासचिव पोखरेलले नेपाल–भारत संयुक्त आयोगको बैठकमा भएका सम्झौता विषयमा सरकारले प्रतिपक्षसँग कुनै पनि परामर्श नगरेका चिन्ता व्यक्त गरेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  २२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update