Mero Chitwan
लघुकथा : ट्वाँ !

 हाकिमसाबकी श्रीमतीलाई राति १० बजेतिर असजिलो भयो । उनको छट्पटी हेर्दा पेटमा समस्या भएको देखिन्थ्यो । उनी कहिले शौचालयतिर हतार-हतार जान्थिन् । कहिले पानी तातो पारेर पिउँथिन् । कहिले आपतकालीन औषधिको बट्टा खोलेर केही खोज्थिन् । कहिले पछ्यौराले पेटमा कसेर बाँध्थिन् ।  यो क्रम करिब  १ घण्टा चल्यो । तर समस्याले घट्ने छाँट देखाएन ।

परिवारमा भएका हाकिमसाब, छोराछोरी सबै जागै थिए । सबैका अनुहारमा बादल  मडारिएको थियो । उनीहरू भन्दै थिए -- बेलुकासम्म त आरामै थियो, अहिले यति राति के आइलाग्यो यस्तो ।  

आखिरमा बिरामी बोक्ने गाडी बोलाइयो । गाडी चाँडै नै आयो ।। सबैको सल्लाहमा शहरको सबैभन्दा पाका चिकित्सकको बहुमुखी औषधि उपचार केन्द्रमा हाकिम्नी साबलाई लगियो । साथमा हाकिम साब र छोरा पनि सँगै गए ।

चिकित्सकले केही सामान्य यन्त्रहरूद्वारा ज्वरो, मुटुको गति, स्वासप्रस्वासको अवस्था, रक्तचाप सबै हेरे ।  त्यसपछि हाकिम्नी साबको पेटको राम्रोसँग स्क्यान गर्नुपर्ने चिकित्सकले बताए । बिरामीलाई  सम्बन्धित कक्षमा लगियो र झन्डै २० मिनेट पछि शैयामा ल्याइयो ।  चिकित्सकले बिरामीको शरीरमा पहिलेदेखि भएका समस्याका बारेमा  सोधे  । हाकिमसाबले सुगर, प्रेसर, थाइराइड लगायतका रोग पहिलेदेखि नै भएको बताए ।

 केहीबेरमा स्क्यानको  प्रतिवेदन आयो । एकछिन घोरिएर प्रतिवेदन हेरेपछि चिकित्सकले बिरामीलाई सोधे- हजुर दिउँसो कुनै भोजभतेरमा सहभागी हुनुभएको थियो?  बिरामीले असजिलो गरी बोल्दै भनिन् - हजुर, आज उहाँको कार्यालयका सुब्बा साबकी श्रीमतीले तिजको दर खान बोलाउनुभाथ्यो । सुब्बा साब पनि घरमै रहेछन्  । धेरै जना जम्मा भएर रमाइलो गरि अनेक परिकार खाइयो । सुब्बासाबले पनि भरे घरमा हाकिमसाबलाई मेरो बढुवाको बारेमा कुरा गर्ने बल आउने गरि खानुपर्छ हजुर भनी-भनी धेरै कुरा थपि थपी दिनुभयो । त्यै हो हजुर ।  जाबो सुब्बाको घरको तिजको दरलाई पनि के भोज भतेर मान्नु र ?? हाम्रालागि  वर्षको ४०/५० वटा त सामान्य नै हो ।'

त्यतिबेलासम्ममा रात्रिकालीन  कार्यभार सम्हालिरहेका झन्डै  १० जना जति स्वास्थ्यकर्मी त्यहाँ जम्मा भैसकेका थिए । हाकिमसाबको कुरा,  हाकिम्नी साबको कुरा र अवस्था अनि स्क्यानको प्रतिवेदन बुझेपछि सबैजना एकले अर्कोतिर हेर्दै ट्वाँ परेका देखिन्थे ।

२०८१ साउन ७
चितवन 

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  ०६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update