Mero Chitwan
सौर्य एयरलाइन्स दुर्घटना : ६ शव जिम्मा लगाइयो, पीडित परिवारबाट बिमाबारे एयरलाइन्सको स्पष्ट प्रतिबद्धता माग

काठमाडौं-सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव आफन्तलाई जिम्मा लगाउन थालिएको छ । बिहीबार ६ शव परिवारको जिम्मा लगाइएको हो ।

तर बिमाका विषयमा एयरलाइन्सको स्पष्ट प्रतिबद्धता नआएको भन्दै पीडित परिवारले शव बुझ्न आनाकानी गरेका छन् । असन्तुष्टिकै बीच ६ शव जिम्मा लगाइएको हो । 

शिक्षण अस्पताल महाराजगन्जले अपराह्न ४ बजे अस्पतालले शव बुझ्न सकिने भन्दै परिवारलाई जानकारी गराएको थियो । तर, आफन्तले पूर्वनिर्धारित समयअनुसार विमान कम्पनीका सञ्चालकसँग छलफल नभएको भन्दै शव बुझ्न इन्कार गरे । त्यसपछि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक र सौर्यकै एक कर्मचारी आएर आफन्तहरुसँग छलफल गरे ।

छलफलमा बिमा प्रक्रिया, कम्पनीको नीतिलगायतमा सौर्यको चित्त बुझ्दो जवाफ नआएको भन्दै पीडित पक्षले शव नबुझ्ने अडान राख्यो ।

यहीबीचमा भने ६ वटा शव भने परिवारले बुझेका छन् । अस्पतालका अनुसार को-पाइलट सुशान्त कटुवाल, इन्जिनियर उद्धव पुरी, अश्विन निरौला, राजाराम आचार्य, दिलीप बर्मा र श्याम विन्दुकारको शव आफन्तले बुझेका छन् । अन्य केहीका आफन्तले भने बिमा रकम सुनिश्चितता लगायतको माग गर्दै शव बुझ्न आनाकानी गरेका छन् ।

त्रिवि शिक्षण अस्पतालले सबैको पोस्टमार्टम बिहीबार अपराह्न नै सम्पन्न गरेको थियो । यता सौर्य एयरलाइन्सले भने एक विज्ञप्ति जारी गर्दै पीडित परिवारजनलाई कम्पनीको तर्फबाट सहयोग हुने प्रतिबद्धता जनाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  २३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update