चितवन- उद्योग वाणिज्य संघ चितवनको अध्यक्षका उमेदवार शिरिष पन्तले आफूले व्यवसायीहरूको सुरक्षामा जोड दिने बताएका छन्। आफ्ना एजेन्डा सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उनले संघमा आबद्ध व्यवसायीको सुरक्षाका लागि बिमा गर्ने प्रतिबद्धता जनाएका हुन्।
उनले संघमा उपाध्यक्ष हुँदा आफ्नो पहलमा भएका कार्यसहित चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । उनले लगानीमैत्री वातावरणलाई प्राथमिकतामा राखेको पनि जनाएका छन् । पन्तले संघमा आबद्ध व्यवसायीहरूको बिमा गराउने, चितवन महोत्सवको स्टल बुकिङमा हुने आर्थिक अनियमितता रोक्न अनलाइन बुकिङ प्रणालीको विकास गर्ने, महोत्सवको हिसाब ३५ दिनभित्र सार्वजनिक गर्ने, संघको पदाधिकारीमा महिलाहरूको आरक्षण कोटा नभएकोले विधानमा नै एक जना महिला आरक्षण कोटाको व्यवस्था गर्ने, युवाहरुलाई उद्यमशील बनाउन विभिन्न तालिमहरू सञ्चालन गर्नुका साथै व्यवसाय गर्न सहजीकरण गर्नेजस्ता योजनाहरु सार्वजनिक गरेका छन् ।
उनले संघमा व्यवसाय गर्ने व्यवसायीभन्दा गैरव्यावसायिकको संख्या निर्णायक हुने खतरा देखिँदै गएकोले नयाँ सदस्यता वितरण तथा सदस्यता नवीकरण गर्दा एप्स बनाएर विधान र कानुनसम्मत बनाइने बताए । पूर्वी चितवन तथा पश्चिम चितवनबाट आउने सार्वजनिक सवारीसाधनलाई नारायणगढबजारसम्म आउन दिन पहल गर्ने, नारायणगढबजारलाई थप व्यवस्थित गर्नका लागि पार्किङ र फुटपाथ व्यवसायीहरुको उचित व्यवस्थापनका लागि ठोस प्रस्तावसहित सम्वन्धित निकायमा पहल गर्ने योजना रहेको उनले बताए ।
यस्ता छन् उनका योजना
१) पूर्वी चितवन तथा पश्चिम चितवनबाट आउने सार्वजनिक सवारीसाधनलाई नारायणगढबजारसम्म आउन दिन आवश्यक पहल र लविङ गर्ने ।
२) नारायणगढबजारलाई थप व्यवस्थित गर्नका लागि पार्किङ र फुटपाथ व्यवसायीहरुको उचित व्यवस्थापनका लागि ठोस प्रस्तावसहित सम्बन्धित निकायमा पहल गर्ने ।
३) संघमा आबद्ध व्यवसायीहरूको सुरक्षाका लागि बिमा गराउने ।
४) उद्योग वाणिज्य संघ चितवनले सञ्चालन गर्ने चितवन महोत्सवको हिसाबकिताब ३५ दिनभित्र सार्वजनिक गर्ने ।
५) चितवन महोत्सवका स्टलहरूको बुकिङ गर्दा हुने आर्थिक अनियमितता हटाउन अनलाइन प्रणालीबाट गर्ने व्यवस्था गर्ने ।
६) संघमा अहिलेसम्म महिला उपाध्यक्षको आरक्षण पद नभएकोले आममहिला दिदीबहिनीहरूको भावना र उहाँहरूप्रति सम्मान व्यक्त गर्दै संघको विधान संशोधन गरी महिला आरक्षणको व्यवस्था गर्ने, संघलाई समावेशी बनाउने ।
७) घरभाडा मनोमानी ढंगले बढाउने प्रवृतिलाई नित्साहित गर्दै वैज्ञानिक भाडा प्रणाली लागू गराउन सम्बन्धित निकायमा प्रस्ताव लैजाने ।
८) संघले सञ्चालन गरेको अतिथि गृह लामो समयदेखि घाटामा चल्दै आएकोले संघलाई आर्थिक भारसमेत परेको हुँदा अतिथि गृह बन्द गरी भोकेसनल ट्रेडिङ सेन्टर सञ्चालन गर्ने तथा कतिपय कोठामा कमजोर रहेका वस्तुगत संघलाई कार्यालय सञ्चालन गर्न दिने ।
९) चितवन उद्योग संघलगायतका विभिन्न निकायसँग समन्वयगरी कालिका नगरपालिकाको शक्तिखोर औद्योगिक क्षेत्र सञ्चालनका लागि आवश्यक दबाब दिने ।
१०) झोलामा संघको सदस्यता बोकेर हिँड्ने तर कहिल्यै पनि पेसा व्यवसाय सञ्चालन नगर्ने तथा सरकारी निकायमा तिर्नुपर्ने दायित्व नतिरेका व्यवसायीको सदस्यता छानविन गरेर हटाउने । संघलाई व्यवसायीहरुको मात्रै विशुद्ध संगठन बनाउने ।
११) प्रदर्शनी तथा महोत्सवलाई सुव्यवस्थित बनाउन लागि उद्योग संघ तथा विभिन्न अन्य निकायसँग समन्वय गर्ने ।
१२) नारायणी नदीकिनारमा रहेका अस्तव्यस्त ठेलाहरूलाई व्यवस्थित गर्न स्थानीय निकायसँग समन्वय गर्ने ।
१३) नारायणगढको मेनरोडलाई व्यवस्थित गर्नका लागि मेनरोड क्षेत्रभित्र साना सवारीसाधन मात्रै सञ्चालन गर्ने व्यवस्था मिलाउन पहल गर्ने ।
१४) नीतिगतरूपमा पहल गर्नुपर्ने विविध विषयमा स्थानीय निकाय हुँदै प्रदेश तथा केन्द्र सरकारसँग बहस पैरवी गर्ने ।
१५) जिल्लाका स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नका लागि आवश्यक प्रवर्द्धनात्मक कार्यहरू सञ्चालन गर्ने ।
१६) युवाहरुलाई रोजगारमूलक र व्यवसायी बनाउन संघको पहलमा विभिन्न निकायसँग समन्वय गरी तालिमहरू सञ्चालन गर्ने ।
१७) व्यवसाय कर, घरवहाल कर तथा विज्ञापन करको समस्यालाई नीतिगतरूपमा समाधान गर्ने ।
१८) बैंकहरुले मनोमानी ढंगले बढाउने व्याजदरमा एकरूपता बनाउन दबाब दिने, पहल गर्ने ।
१९) उवासंघ चितवनको नयाँ सदस्यता प्रदान गर्न तथा नवीकरण डिजिटल एफमार्फत गर्ने व्यवस्था मिलाउने ।
२०) संघको वेवसाइट, सूचना प्रणाली, फेसबुक पेजलगायतलाई अपडेट बनाउने ।
२१) हरेक वर्षको साधारण सभामा उत्कृष्ट व्यवसायी तथा उद्योगीहरूलाई पुरस्कृत तथा सम्मान गर्ने ।
२२) स्थानीय व्यवसायीले सामान लोड अनलोड गर्दा हुँदै आएको असुबिधाको लागि सम्बन्धित निकायसँग सहजताका लागि पहल गर्ने ।
२३) व्यवस्थित अटोल्यान्ड निर्माणका लागि प्रस्तावित स्थानमा पहल गर्ने साथै अन्य विकल्पको पनि खोजीमा विशेष पहल गर्ने ।
२४) जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन र प्रचारप्रसारका लागि सरोकारवालासँग आवश्यक समन्वय गर्ने ।
२५) उद्योग बाणिज्य संघ चितवन जिल्लाकै व्यवसायीहरुको छाता संगठनको रुपमा लिने गरिन्छ । भरतपुर र नारायणढवरपरका क्षेत्रका व्यवसायीको मात्रै जस्तो देखिने प्रतिनिधित्वलाई फराकिलो बनाउँदै रत्ननगर, खैरहनी, राप्तीलगायतका क्षेत्रबाट समेत संघमा जोड्ने सुनिश्चितता गराउने र इच्छाकामना एवं माडीलगायतका क्षेत्रीय संघहरुलाई नगरस्तरीय बनाउन आवश्यक पहलकदमी लिने ।
२६) चितवनका होटल तथा रेस्टुरेन्टहरुलाई २४ सै घन्टा सञ्चालन गर्न दिन आवश्यक पहलकदमी लिने । यसबाहेक पनि विभिन्न सरोकारवालाहरुसँग आवश्यक छलफल, राय र सुझाव लिएर कार्ययोजना बनाएर अगाडि बढ्ने ।
सम्बन्धित समाचार
उद्योग वाणिज्य संघ चितवन चुनाव : के छन् अध्यक्षका दुवै उम्मेदवारका एजेन्डा ?
चितवन उद्योग वाणिज्य संघ चुनाव : उम्मेदवारको अन्तिम नामावली प्रकाशन
चितवन उद्योग वाणिज्य संघ चुनाव : कस–कसले दर्ता गराए मनोनयन