काठमाडौँ-लीलादेवी गड्तौला नेपालको प्रशासनिक इतिहासमै पहिलो महिला मुख्यसचिव बन्न सफल भएकी छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्ले कामु मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको छ ।
मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएसँगै निलम्बनमा परेपछि गड्तौला निमित्त मुख्यसचिव भएकी थिइन् । उनलाई गत असार ३१ गते निमित्त मुख्यसचिवबाट कामु मुख्यसचिवको जिम्मेवारी दिइएको थियो ।
२०२३ साल भदौ १५ मा तेर्हथुममा जन्मेकी गड्तौलाको हालको ठेगाना सोलुखुम्बुको सल्यान हो । २०५२ सालमा न्याय सेवा अन्तर्गत कानुन समूहबाट शाखा अधिकृत बनेकी थिइन् । उमेर हदका कारण उनी आउँदो भदौ १५ बाट सेवा निवृत्त हुनेछिन् । उनी अबको करिब ३५ दिन मात्र मुख्यसचिव रहनेछिन् ।
शाखा अधिकृतमा पहिलो नम्बरमा उत्तिर्ण गड्तौला २०६३ मा उपसचिव, २०७० मा सहसचिव,२०७७ मा सचिव र २०८१ असार ३१ मा कामु मुख्यसचिव बनेकी हुन् । भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर भएपछि निलम्बनमा परेका मुख्यसचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा अतिरिक्त पद सिर्जना गरी जिम्मेवारीमुक्त गरेसँगै मुख्यसचिवको निमित्त जिम्मेवारी गड्तौलालाई दिइएको थियो ।