Mero Chitwan
सिमलताल दुर्घटना :  भारतीय टोलीको खोजीबाट पनि केही भएन प्रगति 

काठमाडौँ-चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डस्थित सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता दुई वटा बस तथा यात्रुको खोजी कार्यमा खासै प्रगति देखिएको छैन ।

घटना भएको १४ दिन बितिसक्दा पनि नेपाल भारतका संयुक्त सुरक्षा फौजबाट खोजतलास जारी छ तर अहिलेसम्म बेपत्ता गाडी र बाँकी यात्रुबारे कुनै पनि नयाँ सङ्केत नमिलेको सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय सहप्रवक्ता, प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । 

५ दिनदेखि सशस्त्र प्रहरी बल नेपालको गोताखोरसहित छिमेकी राष्ट्र भारतको राष्ट्रिय आपदा मोचन बल (नेशनल डिजास्टर रेष्पोन्स फोर्स) बाट १२ जनाको प्राविधिक टोलीले संयुक्त रुपमा खोजी गरिरहेको छ । 

थापाका अनुसार सिमलतालदेखि भारतीय सीमा क्षेत्र गण्डक ब्यारेजसम्मै विभिन्न क्षेत्रबाट टोली परिचालन गरेर खोजी भइरहेको छ ।  गत शनिबार चितवन आइपुगेको भारतीय प्राविधिकसहितको टोलीले आइतबार बिहानबाट खोजी कार्य थालेको थियो । उक्त घटनामा परी हराइरहेका यात्रुमध्ये हालसम्म २५ वटा शव प्राप्त भएको छ । 

 गत असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएको थियो । 

उक्त बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । अझै दुई बससँगै ३७ यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन । 

 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  २२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update