Mero Chitwan
ललितपुरमा चार जनामा हैजा पुष्टि

काठमाडौँ-ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा  भएको परीक्षणमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा मुकेश पौडेलले जानकारी दिए । 

हैजा पुष्टि भएका सबै युवा ललितपुरको गोदावरी नगरपालिका–१४ मा स्थिति सुधार केन्द्रका हुन् । उनीहरुमध्ये दुई जना उपचारका क्रममा भागेका छन्  भने अन्य दुईजनामध्ये एक जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र अर्को एक जनाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 

ललितपुर जनस्वास्थ्य कार्यालयका प्रमुख डा भुवन पौडेलले सुधार केन्द्रमा रहेका युवामा एक्कासी झाडापखाला देखिएको र परीक्षण गराउँदा हैजा पुष्टि भएको बताए । 

उनले झाडापखाला फैलिएको क्षेत्रमा सङ्घ, प्रदेश र स्थानीय तहको सहयोगमा सङ्क्रमण रोकथाम गरिएको जानकारी दिए । शाखाका प्रमुख डा पौडेलले सुधार केन्द्रमा इनारको पानी प्रयोग गरिएको र उक्त पानी दुषित रहेको बताए । 'इनारको पानीमा दिसाको जीवाणु देखियो', उनले भने, 'त्यहीबाट हैजा फैलिएको हो ।' 

उनहाँ भागेका दुई जनालाई हैजाको प्रारम्भिक उपचार गरेकाले उनीहरुबाट अन्यमा सर्ने सम्भावना कम भएको बताउनुभयो । पौडेलले बर्खायामसँगै पानीजन्य रोग बढ्ने भएकाले पानी उमालेर खान अनुरोध गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update