Mero Chitwan
क्यान्सर अस्पतालमा उपचारमा लापरबाही : दुई नर्स निलम्बित, दुई चिकित्सकसहित २३ जनासँग स्पष्टीकरण माग

चितवन–चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आवश्यकताभन्दा बढी केमो दिएर बिरामीको मृत्यु भएको घटनामा अस्पतालले कारबाही अघि बढाएको छ।

लमजुङका ५० वर्षीय क्यान्सर बिरामीको गत असार १३ गते निधन भएको थियो । ३ दशमलब ४ मिलिग्राम केमो दिनुपर्नेमा ३४ मिलिग्राम दिएपछि उनको मृत्यु भएको थियो । लापरबाही भएको देखिएपछि अस्पतालले छानबिन समिति गठन गरेको थियो । 

अस्पतालले उपनिर्देशक डा उमेश नेपाल, मेडिकल अंकोलोजी बिभागका प्रमुख डा गुरुशरण शाह र नर्सिङ प्रमुख अनिता देवकोटा रहेको छानबिन समिति बनाएको थियो । समितिले साउन ३ गते प्रतिवेदन बुझाएको अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोले बताए । 

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले अध्ययन टोलीले आफ्नो प्रतिवेदन दिईसकेको बताउँदै प्रतिवेदनका आधारमा कारबाही अगाडि बढाईएको जानकारी दिए । निलम्बनदेखि भिन्न कारबाहीका लागि सिफारिस भएर आएको बताउँदै उनले प्रतिवेदनका आधारमा अस्पताल प्रशासनले काम गरिरहेको बताए ।  

अस्पतालले दुई चिकित्सकसहित २३ जना नर्ससँग स्पष्टिकरण मागेको छ भने २ नर्सलाई निलम्बन गरिएको  जनाइएको छ । 

खुट्टाको छालाको क्यान्सर मेलानोमा भएपछि ती बिरामीको शल्यक्रिया गरिएको थियो । रोग फैलिएर खुट्टामुनिको काछसम्म पुगेर गाँठागुठी देखिए पछि बायोप्सि गरेर क्यान्सर एकिन गरिएको थियो । सो पश्चात बिरामीलाई केमो दिईएको थियो । 


 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ०५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update