चितवन-पृथ्वी राजमार्गअन्तर्गत नागढुङ्गा–मुग्लिन सडकखण्ड विस्तार तीन महिनाका लागि रोकिएको छ । वर्षाका कारण असार, साउन, भदौसम्मका लागि विस्तारकाे काम रोकिएको नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) आयोजनाले जनाएको छ ।
यो अवधिमा पहिरो पन्छाउने, बाटो फराकिलो पार्न रुख काट्ने, जरुरी नाला बनाउनेबाहेकका काम केही नहुने जनाइएको छ । मुग्लिनदेखि मलेखुसम्मको ४० किलोमिटर सडकको विस्तारको कामको निरीक्षण नागढुङ्गा–मुग्लिङ सडक आयोजना (पश्चिम खण्ड) लिएको छ । यस कार्यालयको क्षेत्रमा छ वटा ठुला पुल निर्माण कार्य जारी रहेको छ ।
छ वटा पुलमध्ये पाँच वटाको पिल्लर उठाइएको छ भने एउटाको बाँकी रहेको छ ।
चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति गर्ने पश्चिम खण्ड आयोजनाको कार्य क्षेत्रमा परेको छ । नागढुङ्गादेखि मुग्लिनसम्मको ९५ किलोमिटर सडक स्तरोन्नति भइराखेको छ । पश्चिम क्षेत्रमा भने ४० किलोमिटरको काम गरिने छ । बाँकी धादिङ कार्यालयले हेर्ने गरी विभाजन गरिएको छ । यस क्षेत्रमा सगुन कन्स्ट्रक्सन र शर्मा लामा जेडआइसिजीले ठेक्का पाएका छन् । पश्चिम क्षेत्रका लागि शर्मा जेडआइसिजी जेभीले सडक विस्तार र स्तरोन्नति गर्ने ठेक्का पाएको छ ।