Mero Chitwan
सौर्य एयरलाइन्स विमान दुर्घटना : ३ टोलीद्वारा शवको पोस्टमार्टम जारी, भोलिमात्र परिवारलाई बुझाइने

काठमाडौं- सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका १८ जनाको शवको पोस्टमार्टम सुरु गरिएको छ । 

त्रिवि शिक्षण अस्पतालमा शवको पोस्टमार्टम सुरु गरिएको हो। पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र भक्तपुर अस्पतालका चिकित्सकको ३ टोली खटिएको छ । भोलिसम्म पोस्टमार्टम गरेर  आफन्तलाई बुझाइने अस्पतालले जनाएको छ । दुर्घटनामा सकुशल उद्धार गरिएका विमानमा पाइलट मनिषरत्न शाक्यको अवस्था भने सुधारोन्मुख रहेको जनाइएको छ। उनको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । 

विमान दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा झण्डा आज आधा झुकाइने निर्णय सरकारले हिजो गरेको थियो भने छानबिनका लागि नागरिक उड्डयन विभागका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा आयोग गठन गरिएको छ । 

आयोगको सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दिपुराज ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई, श्री एयरलाइन्सका इञ्जिनियर सञ्जय अधिकारी छन् ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एयर ट्राफिक कन्ट्रोलर (एटिसी) अधिकृत मुकेश डङ्गोल सदस्य सचिव रहेका छन् ।    आयोगलाई वायुयानको सत्यतथ्य जाँचबुझगरी ४५ दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ ।    

हिजो  बिहान काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको त्रिभुवन अन्तर्राष्ट्रिय विमान विमानस्थल क्षेत्रमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । उक्त विमानका पाइलट मनिष शाक्य गम्भीर घाइते  भएका छन् । उनको हाल सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update