Mero Chitwan
सौर्य एयरलाइन्स विमान दुर्घटना : कस्तो छ घाइते क्याप्टेनको अवस्था ?

काठमाडौँ-सौर्य एयरलाइन्सको विमान दुर्घटनामा बाँच्न सफल विमान चालक मनीषरत्न शाक्यको अवस्था स्थिर रहेको छ । 

दुर्घटनालगत्तै सकुशल उद्धार गरी सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको छ । 

उपचारमा खटिएका एक चिकित्सकका अनुसार शाक्यको अनुहारका विभिन्न स्थानमा गहिरो चोट लागेको छ । उनको सीटी स्क्यान तथा एमआरआईमा मस्तिष्क केही सुन्निएको देखिएको छ भने मेरुदण्डको ‘एल २’ भाग भाँचिएको छ । आठौं, नवौं र दसौं करङ भाँचिएको छ ।

चिकित्सकका अनुसार शाक्यलाई सूक्ष्म निगरानीका लागि सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ । ‘हामीले अब्जर्भेसन गरिरहेका छौं । अहिले उहाँको स्वास्थ्य अवस्था स्थिर छ । हालको अवस्था हेर्दा उहाँ खतरामुक्त नै हुनुहुन्छ,’ अस्पतालका चिकित्सकले भने । विमानचालक शाक्यको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली बुधबार साँझ काठमाडौं मेडिकल कलेज पुगेका थिए ।

विमानस्थलको कोटेश्वरतर्फ रनवे ०२ बाट उडेको सौर्यको विमान बिहान ११ बजेर ११ मिनेट जाँदा दुर्घटनामा परेको थियो । त्यसको करिब २ मिनेटपछि नै विमानको अग्रभाग ठोकिएको स्थानमा पुगेर दमकलले पानी हाल्न थालिसकेको थियो । करिब २० मिनेटमा चालक शाक्यलाई उद्धार गरेर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुर्‍याइएको थियो । उद्धारमा खटिएका प्रहरीका अनुसार दुर्घटनास्थलबाट उद्धार गरेको समयमा उनी बोल्न सक्ने अवस्थामा थिए । उनलाई तत्काल अस्पतालको आकस्मिक कक्षमा पुर्‍याउँदा पनि उनी बोल्न सक्ने अवस्थामा नै थिए ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  २२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update