Mero Chitwan
लामो समयसम्म भुक्तानी नहुँदा  दूध उत्पादक किसान निरुत्साहित

चितवन : यहाँका दूध उत्पादक किसानहरुले दूध उत्पादन वृद्घि गर्न छाडेका छन् । विगत छ महिनादेखि दूधको भुक्तानी नपाएका किसान उत्पादन वृद्धि हुने समयमासमेत उत्पादन वृद्धिमा ध्यान दिन छाडेका हुन् । 

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष किशोर बगालेका अनुसार बजारीकरणमा समस्या हुने देखिएपछि जिल्लाका दुग्ध उत्पादक किसानले दूध उत्पादन वृद्धि हुने समयमा पनि उत्पादन बढाउन चासो नदेखाएका हुन । बगालेले भन्नुभयो, “अहिले दूध उत्पादन गर्ने किसानले दोब्बर उत्पादन गर्न सक्छन्, तर बजारीकरणमा समस्या हुँदा उत्पादन वृद्धिमा चासो नदिएका हुन ।” बजारीकरणमा समस्या हुने डर र बिक्री भएको दूधको रकम लामो समयसम्म भुक्तानी नहुँदा यहाँका किसान पलायन हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो ।

सरोकारवाला निकायले किसानका कुरामा ध्यान नदिँदा दुग्ध उत्पादक किसान मारमा परेको नेपाल किसान महासङ्घका जिल्ला सचिव इन्द्रमणि गैरेले बताउनुभयो । बाहिरबाट अनाधिकृत रुपमा आयात हुने दूधका कारण यहाँ दूध उत्पादन वृद्धि हुन नसकेको हो । उहाँले भन्नुभयो, “अहिले दूध उत्पादन वृद्धि हुने समय हो, तर सोचे जस्तो उत्पादन हुनसकेको छैन किसान दूध उत्पादन वृद्धि गर्न डराउँछन् ।” 

अध्यक्ष बगालेका अनुसार निजी क्षेत्र र सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)सँग गरी रु ७२ करोड दूधको भुक्तानी लिन बाँकी छ । “भुक्तानीका लागि पटक–पटक धाउनपर्छ, थोरै–थोरै गरेर भुक्तानी आउँछ”, बगालेले भन्नुभयो, “हालको भन्दा बढी दूध उठाउने पक्षमा कोही छैनन् ।” उहाँले चितवनबाट दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने र जसमध्ये जिल्लामै एक लाख ५० हजार लिटर खपत हुने जानकारी दिनुभयो । 

जिल्लामा साउन महिनामा गत वर्ष जस्तो दूधको माग नभएको बगालेले बताउनुभयो । अहिले जिल्लामा ४० हजार बढी दूध उत्पादक किसान छन् । 
--

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update