Mero Chitwan
संसद्‌मा प्रधानमन्त्रीले जवाफ दिँदै गर्दा वर्षमानको आपत्ति

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठका सांसदहरुको प्रश्नोनत्तर दिँदै गर्दा माओवादी केन्द्रका सांसद वर्षमान पुनले नियमापत्ति गर्नुभएको छ । उहाँले प्रधानमन्त्रीले सांसदले सोधेको प्रश्नभन्दा बाहिर गएर बोल्नुभएको भन्दै नियमापत्ति गर्नुभएको हो ।

नेपाली कांग्रेका सांसद धनराज गुरुङले राखेको प्रश्नको उत्तर दिँदै गर्दा उहाँले संसद्‍मा जथाभावी प्रश्न सोध्न नहुने भन्दै आपत्ति जनाउनुभएको थियो ।

यस्तै प्रधानमन्त्री ओलीले गुरुङको प्रश्नको उत्तर दिँदा विद्युत् प्राधिकरण र उद्योगीबीच विवादमा रहेको विद्युत् महशुलका विषयमा भनाइ राख्नुभएको थियो । उहाँले आफूले व्यवसायीले उपयोग नगरेको महशुल तिर्नु नपर्ने भनेको बताउनुभयो । यो बताउँदै गर्दा उहाँले आफूले हिजो संसद्‍मा बोलेको विषयमा पनि गलत व्याख्या गरिएको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री ओलीले आफूलाई गलत आरोप लगाएको भन्दै आफ्नो हैसियतमा बोल्न आग्रह गर्नुभयो । 'कहिले सुन होइन, पित्तल चढाएको छ भनेको छ, कहिले अनेकथरी फोटा छपाएको छ, अनेक गरेको छ । यो खालको तरिका माननीयको हैसियतमा शोभनीय हुँदैन, सत्य कुरा गर्न सिक्नुपर्छ । सत्य कुरा गर्न सिक्नुपर्छ’, उहाँले भन्नुभयो । 

उहाँले यही विषयमा निरन्तर भनाइ राखेपछि माओवादीका सांसद पुनले उठेर नियमापत्ति जनाउनुभएको थियो । पुनले नियमापत्ति जनाएपछि प्रधानमन्त्री ओलीले मैले प्रश्न उत्तर नै गरिरहेको भनेर जवाफ दिनुभएको थियो ।

त्यपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीलाई विषय केन्द्रित भएर अगाडि बढ्न रुलिङ गर्नुभएको थियो । त्यसपछि पनि प्रधानमन्त्रीले आफू विषय केन्द्रित नै भएको भन्दै आफूले कसैलाई गाली नगरेको भन्दै आवेश उत्तेजनामा नआउन आग्रह समेत गर्नुभयो । 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update