Mero Chitwan
चितवन निकुञ्जमा एक वर्षमा मरे ७६ जनावर, यी हुन् कारण

चितवन-चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८०/८१ मा पन्ध्र प्रजातिका ७६ जनावार मरेका छन् । ती मध्ये सबैभन्दा बढी चित्तल  छन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आवमा  कुकुरको आक्रमणबाट दुई र  २२ प्राकृतिक कारणले २४ चित्तल  मरेका थिए । यसैगरी उक्त अवधिमा २१  गैँडा २१ मरेका छन्  । ती मध्ये १८  प्राकृतिक कारणले मरेका हुन् भने दुई चोरी सिकारीले र एउटाको कारण खुल्न नसकेको उनले बताए । यसैगरी प्राकृतिक कारणले आठ बाघ मरेका छन् भने रतुवा छवटा मरेको अवस्थामा भेटिएका थिए ।  पाँच हात्ती र चार जरायो पनि प्राकृतिक कारणले मरेको तिवारीले बताए। 

यसै अवधिमा घडियाल गोही दुई वटा मरेका छन् । एउटा प्राकृतिक कारणले हो भने एउटाको कारण खुल्न सकेको छैन । मगर गोही दुई, बँदेल एक, लगुना एक र दुईवटा अन्य जनावार प्राकृतिक कारणले मरेको सूचना अधिकारी  तिवारीले बताए ।  मृत भेटिएका जनावारमध्ये ७०  जनावर प्राकृतिक कारणले, दुई चोरी सिकारीले, दुई कुकुरको आक्रमणबाट र दुईवटा कारण खुल्न नसकेको उनले जानकारी दिए ।

गत वर्ष निकुञ्जले दुई सय २२ वटा जनावरको उद्धार गरेको जनाएको छ । उद्धार गरिएकामा सबैभन्दा धेरै अजिङ्गर एक सय ४१ छन् । ३३  सर्प, ११–११  बाघ र मगर गोहीको उद्धार गरिएको उनले बताए । चित्तल छवटा, गैँडा तीनवटा, जरायो, बँदेल र चितुवा दुई–दुईवटा, सुन कछुवा र घडियाल गोही एक–एकवटाको उद्धार गरिएको छ । अन्य जनावर नौ वटाको उद्धार गरिएको सूचना अधिकारी तिवारीले बताए । 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update