Mero Chitwan
राष्ट्रपति चुनाव नलड्ने जो बाइडनको घोषणा

एजेन्सी- चौतर्फी दबाबपछि अमेरिकी राष्ट्रपति जो बाइडनले नोभेम्बरमा हुने राष्ट्रपतीय चुनाव नलड्ने घोषणा गरेका छन् । रिपब्लिकन उम्मेदवार डनल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्न उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सार्ने पनि उनले जनाएका छन् ।

बाइडनले यसै साता राष्ट्रको नाममा सम्बोधन गर्ने तय भएको छ । गत साता मात्र कोभिड संक्रमित भएपछि बाइडन अहिले डेलावेयरस्थित आफ्नै घरमा आराम गरिरहेका छन् । 

सामाजिक सञ्जाल एक्सको एक पोस्टमा बाइडनले आफू पुनर्निर्वाचित हुन चाहे पनि आफ्नो पार्टी र देशका लागि आगामी चुनावी दौडबाट पछि हटेको उल्लेख गरेका छन् । बाइडनको पछिल्लो निर्णयले यस वर्षको ह्वाइट हाउस दौडमा अर्को नाटकीय मोड ल्याएको छ । 

जुन २७ मा भएको राष्ट्रपतीय बहस-प्रेसिडेन्सियल डिबेटमा डेमोक्र्याट बाइडनको प्रदर्शन निकै कमजोर रहेको थियो भने जुलाई १३ को एक चुनावी सभामा रिपब्लिकन उम्मेदवार ट्रम्पमाथि गोली प्रहार भएको थियो । त्यसयता ट्रम्पले ३९ वर्षीय जे डी भान्सलाई आफ्नो उपराष्ट्रपति उम्मेदवार चयन गरेका छन् । यसअघि अमेरिकामा गरिएको सर्वेक्षण अनुसार अमेरिकी जनता बाइडन र डोनाल्ड ट्रम्पबीचको अर्को चुनावी प्रतिस्पर्धाप्रति असन्तुष्ट  थिए। 

रिपब्लिकन ट्रम्पले भने चुनावमा बाइडनलाई भन्दा ह्यारिसलाई हराउन सजिलो रहने प्रतिक्रिया दिएका छन् । ह्यारिस डेमोक्र्याटिक पार्टीको आधिकारिक उम्मेदवार भएमा उहाँ अमेरिकी राष्ट्रपति पदका लागि पहिलो अश्वेत एसियन अमेरिकन महिला उम्मेदवार हुनेछिन । 

 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update