Mero Chitwan
सर्लाहीमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या
पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको घरमा गएर अनुसन्धान गर्दं प्रहरी, जम्मा भएका स्थानीय र इन्सेटमा रामचन्द्र राय

चितवन- राप्रपा केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । गएराति सर्लाहीको चन्द्रनगर गाउँपालिका-१ रतनपुरस्थित निवासमै रायको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी दीपक श्रेष्ठका अनुसार ८० वर्षीय रायको हत्या भएको खबर आइतबार राति १ बजे प्रहरीले पाएको थियो । राय कोठाभित्र मृत अवस्थामा भेटिएका थिए । उनको टाउकोको बायाँ भागमा धारिलो हतियार प्रहार भएको पाइएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुख पनि घटनास्थल पुगेका छन् । अनुसन्धानका लागि तालिमप्राप्त कुकरको समेत प्रयोग गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए । चन्द्रपुर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोका अनुसार परिवारसहित मलंगवामा बस्ने गरेका  पूर्वराज्यमन्त्री राय आइतबार मात्रै पूरानो घर रतनपुर आएका थिए । उनी खेतीपाती हेर्न समयसमयमा रतनपुर आइरहन्थे । त्यहाँ खाना बनाउनका लागि भनेर एकजना भान्से पनि राखेका थिए । अध्यक्ष महतोका अनुसार आइतबार राति खाना खाइसकेपछि तीन जना व्यक्तिहरू रायलाई भेट्न आएको ती भान्सेले बयान दिएका छन् ।

 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update